फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७७, सोमबार

तस्बिर:फाइल

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको २० लाख डोज कोभिसिल्ड खोप मध्य पहिलो खेपमा १० लाख डोज आइतबार नेपाल आएपछि सरकारले दोस्रो चरणको अभियानको तयारी थालेको हो ।

६० वर्षमाथिकालाई फागुन २३ गते खोप अभियानमा सहभागी गराउने मन्त्रालयको तयारी छ । यद्यपि मन्त्रिपरिषदको बैठकले भने ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो ।

करिब २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने मन्त्रालयको योजना छ । निश्चित स्थानमा मात्र खोप केन्द्र हुँदा पहिलो चरणको अभियानमा सबैलाई खोपको पहुँचमा ल्याउन नसकेको अधिकारीहरुको अनुमान छ । यसपटक देशभर रहेका स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

स्थानीय तहमै पुगेर खोप अभियान सञ्चालन गर्ने तयारी बमोजिम स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइसकेको मन्त्रालयले जनाएको छ । भारतले १० लाख डोज कोभिशिल्ड अनुदान स्वरुप नेपाललाई उपलब्ध गराएपछि माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

प्राथमिकताको आधारमा अहिले पनि पहिलो चरणको अभियान निरन्तर चलिरहेको छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शव बहानका चालक, सरकारी कार्यालयका कर्मचारी, निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकार लगायत कूटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीले प्राथमिकताको आधारमा खोप लगाएका छन् ।

सरकारले खरिद गरेको २० लाख डोज खोप मध्यको आउँन बाकि १० लाख डोज नेपालले माग गरेको समयमा उत्पादक कम्पनी सेरम इन्ष्टिच्युटले उपलब्ध गराउने छ । सरकारले अभियान निरन्तर जारी राख्न र सबै नागरिकलाई खोप अभियानमा सामेल गराउँन कोभ्याक्समार्फत थप २२ लाख डोज खोप ल्याउने तयारी समेत गरेको छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech