नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा क्यान्सरको उपचार सुरु

हप्तामा तीन बार सन्ध्याकालिन सेवा सुरु गरिएको छ । आइतवार, मंगलवार र विहीबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञ चिकित्सकबाट सेवा दिइने अस्पतालले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा क्यान्सरको उपचार सेवा सुरु भएको छ । अस्पतालले निश्चित समय निर्धारण गरेर क्यान्सरको ओपिडि सेवा सुरु गरेको हो ।

हप्तामा तीन बार सन्ध्याकालिन सेवा सुरु गरिएको अस्पतालका प्रशासकिय अधिकृत कुमार अधिकारीले जानकारी दिनुभयो । ‘सुरुवाती चरणमा हामीले क्यान्सरको ओपिडी परामर्श सेवा सुरु गरेका छौं अधिकारीले स्वास्थ्य पेजलाई भन्नुभयो–‘आइतवार, मंगलवार र विहीबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञ चिकित्सकबाट परामर्श दिइने छ ।’

क्यान्सर भए नभएको थाहा पाउनका लागि अव चितवनको भरतपुर तथा भारतीय अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य भएको पनि उहाँले स्पष्ट पार्नुभयो । यसअघि क्यान्सरको शंका लागेमा चेकजाँचका लागि मात्रै भएपनि भरतपुर जानु पर्ने विरामीहरुको बाध्यता थियो । विगत एक वर्षदेखि बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संचालनमा आइसकेपछि भने केही हदसम्म विरामीलाई सहज भएको छ ।

तर सबै खालको सेवासुविधा भएको मेडिकल कलेज नेपालगन्जमा क्यान्सरको उपचार समेत सुरु भएपछि विरामीलाई अनावश्यक दौडधुपको निदान भएको छ । प्रारम्भिक चरणमा अहिले क्यान्सरका शंकास्पद विरामीको परीक्षण गर्ने काम भइरहेको क्यान्सर रोग विशेषज्ञ डा सौर्हाद लोहनीले जानकारी दिनुभयो ।

‘ओपिडी सुरु भएसँगै विरामीहरु आउन थाल्नुभएको छ लोहनीले भन्नुभयो–‘क्यान्सरको एकिन गर्ने, दुखाइबढी भएकालाई त्यही खालको औषधि दिने र आवश्यक परामर्श दिने काम गरिरहेका छौं ।’

विरामीको फ्लो बढ्दै गए सातै दिन सेवा दिने तयारी मेडिकल कलेजले गरेको छ । अहिले फोक्सोमा क्यान्सर, सूर्तिजन्य पदार्थको प्रयोगले नाक, कान र घाँटीको क्यान्सर, त्यस्तै महिलामा पाठेघर, डिम्बासय, आमासयलगायतमा क्यान्सर भएका विरामीहरु धेरै देखिएका छन् ।

उपचारमा संलग्न अर्का क्यान्सर रोग विशेषज्ञ डा गेरिमा प्रसाईले क्यान्सर लाग्दैमा व्यक्तिको मृत्यु नहुने भएकाले समयमै त्यसको पहिचान गरेर उपचार गर्न सकिने बताउनुभयो ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech