अन्य ठाउँमा खोप लगाउनेको संख्या न्यून हुँदा बाँके-बर्दियामा किन उत्साहीत ?

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

नेपालगन्जः भारतले १० लाख डोज कोरोना खोप निःशुल्क उपलब्ध गराएपछि सरकारले नेपालमा पहिलो चरणको खोप अभियान सञ्चालन गर्‍यो। माघको १४ गतेदेखि सुरु भएको खोप अभियानमा बाँके र बर्दिया जिल्लामा भने उत्साहजनक सहभागीता रहेको पाइएको छ ।

यो खोप अभियानमा देशभर ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य थियो। देशभरको तथ्यांक हेर्ने हो भने लक्ष्यभन्दा आधा पनि खोप लगाउन आएनन्। तर बाँके र बर्दियामा भने लक्ष्य नजिक पुगेको सम्बद्ध सरोकारवालाहरुले बताएका छन् ।

बाँकेमा ९५.१६ प्रतिशतले खोप लिँदा बर्दियामा ९९.१ प्रतिशतले खोप लगाएका छन् । पहिलो चरणमा सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शवबाहन चालक, कारागारका कर्मचारी, कैदी लगायत खोप उपलब्ध गराउने निर्णय गरी खोप अभियान सञ्चालन गरेको थियो ।

खोपप्रतिको विश्वसनियता बढाएका कारण लक्ष्यअनुसारको प्रगति हासिल सम्भव भएको बर्दिया जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । लक्षित समूहलाई सहि सूचना प्रवाह गर्दै उनीहरुबाट पनि सोहि अनुसारको सूचना प्रवाह हुँदा खोप लगाउनेको संख्या बढेको उहाँको भनाइ छ ।

पहिलो चरणको खोप अभियानलाई बढाउँदै खोप लगाउनेको समूहको दायरा पनि फराकिलो बनाउँदै लगेको छ। पहिलो चरणमा खोप लगाउनेको तथ्यांक नै मगाएर सूची तयार गर्दा पनि कोरोना खोप लगाउन नआएपछि सरकारले पत्रकार, कूटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगायो। तर त्यसो गर्दा पनि खोप लगाउनेको संख्या मुस्किलले २ लाख मात्र पुगेको छ ।

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शव बहानका चालकलाई मात्र पुग्ने भनिएको खोप त्यसपछि सरकारले सरकारी कार्यालयका कर्मचारी, निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकारलगायतलाई दिन सुरु गरेको छ। बाँकेमा खोपप्रतिको उत्साह नै देखिएको बुझाइ छ फोकलपर्सन तेजबहादुर ओलीको ।

विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसबाट जोगिने खोप लगाउन यसक्षेत्रका नेपालीहरुले चासो दिएको देखिएको उहाँको भनाइ छ । खोप अभियान अहिलेपनि चलिरहेको छ । उहाँका अनुसार पहिलो चरणमा लगाउन भनेर सूचीमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मी धेरैले खोप लगाइसकेको उहाँको भनाइ छ । नेपालगन्जको भेरी अस्पताल खोप केन्द्रबाट खोप लगाउने काम भइरहेको छ ।

‘नयाँ खोप भएकाले के हुन्छ। कस्तो हुन्छ भन्ने स्वाभाविक आंशका पनि देखिए। अहिले धेरैले खोप लगाइसकेपछि पहिले डराएका व्यक्तिहरुले पनि खोप लगाइरहनुभएको उहाँको भनाइ छ । खोपको प्रभावकारिता र महत्वबारे सबैलाई सही रुपमा अझै बुझाउन जरुरी रहेको ओलीको भनाइ छ । भारतले नेपाललाई सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराएको हो। कोभिसिल्ड खोपको प्रभावकारिता ७८ प्रतिशतसम्म रहेको बिज्ञहरु बताउँछन् ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech