बर्दियामा खोपप्रतिको उत्साहः ९९ प्रतिशतले लगाए

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

गुलरियाः दोस्रो चरणको खोप अभियान अन्तर्गत बर्दियामा करिव ४ हजार ७ सयले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो सात दिनमा ४ हजार ६ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला कोभिड-१९ संकट व्यवस्थाप केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो चरणमा जिल्लामा रहेका संघ, प्रदेश, स्थानिय तहका निजामती कर्मचारी, जनपथ प्रहरी, फ्रन्टलाईनमा रहेका शसस्त्र प्रहरी तथा नेपाली सेना, पत्रकारहरु, स्थानिय तहका जनप्रतिनिधि तथा वडाका जनप्रतिनिधि, जिल्ला तथा स्थानियतह भित्र रहेका बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई समेत समावेश गरि ४ हजार ६ सय ७५ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको थियो ।

लक्ष्य अनुसार लक्षित समूह सबैले कोरोना विरुद्धको खोप लगाएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । यो हिसावले हेर्दा बर्दियामा ९९ प्रतिशत लक्षित जनसंख्यालाई खोप सेवा प्रदान गरिएको छ । ‘लक्षित समुहको छुट संख्या खोजी कार्य जारी छ फोकलपर्सन श्रेष्ठले स्वास्थ्य पेजसँग भन्नुभयो–‘आवश्यकताका आधारमा ९ र १० गते पनि खोप सेवा संचालन गर्ने योजना बनाईएको छ ।’

पहिलो र दोस्रो चरण गरि बर्दिया जिल्लामा जम्मा ६ हजार ६ सय १३ जनालाई कोभिड विरुद्धको खोप लगाईएको छ । खोप लगाएकाहमा सामान्य ज्वरो आउने र शरिर दुख्ने लगाएतका समस्या वाहेक जटिल प्रकारको समस्या नदेखिएका कारण लक्षित समुहहरु खोप लगाउन उत्साहीत भएको पाईएको श्रेष्ठको भनाइ छ ।

पहिलो चरणको खोप अभियानमा एक हजार ९ सय ६२ जनालाई खोप दिने लक्ष्य रहेकोमा एक हजार ९ सय ८३ जना अर्थात १०१.३ प्रतिशतलाई खोप सेवा प्रदान गरिएको थियो । पहिलो चरणमा सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, शव व्यवस्थापन टिम, एम्वुलेन्स चालकहरु, परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई खोप दिइएको थियो ।

 

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech