स्वस्थ्य मन्त्री हृदयेश त्रिपाठीका तीन बिषय प्राथमिकतामा

पहिलो प्राथमिकता, कोभिड–१९ विरुद्धको खोप ल्याउने र त्यसलाई भण्डारण गर्ने व्यवस्था मिलाउने दोस्रो प्राथमिकता, प्रत्येक पालिकामा ५, १० र १५ बेड अस्पताल बनाउने महत्वाकांक्षी योजनालाई अघि बढाउने तेस्रो प्राथमिकता, स्वास्थ्यका कर्मचारीको समायोजन गर्ने


    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले तीन वटा विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । शुक्रबार सानेपास्थित स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसीयु)को उद्घाटन समारोहमा बोल्दै मन्त्री त्रिपाठीले सो कुरा बताउनुभएको हो ।

उहाँले पहिलो प्राथमिकतामा कोभिड–१९ विरुद्धको खोप ल्याउने र त्यसलाई भण्डारण गर्ने व्यवस्था मिलाउने, दोस्रोमा प्रत्येक पालिकामा ५, १० र १५ बेड अस्पताल बनाउने महत्वाकांक्षी योजनालाई अघि बढाउने र तेस्रोमा स्वास्थ्यका कर्मचारीको समायोजन गर्ने काम अघि बढिरहेको बताउनुभयो ।

मन्त्री त्रिपाठीले यतिबेला नेपालमा कोभिड खोप अभियान युद्ध स्तरमा चलिरहेको दावी गर्नुभयो । मन्त्री त्रिपाठीले खोपको अभावमा खोप अभियान नरोकिने बताउनुभयो । सरकारले २ दिनअघिमात्र २० लाख डोज खोप खरिदका लागि पैसा समेत पठाइसकेको छ । जसमा प्रति खोप ४ डलरका दरले पैसा पठाइएको उहाँको भनाइ छ । २३ फागुनबाट समुदायस्तरमा खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले जानकरी दिनुभयो ।

‘सरकारले फागुन २३ गतेबाट समुदायस्तरमा खोप अभियान सञ्चालन गर्दैैछ,’ उहाँले भन्नुभयो, ‘सुरुमा ६० वर्षभन्दा माथि उमेरसमूहका मानिसलाई निःशूल्क खोप लगाइनेछ त्यसका लागि आवश्यक तालिम सुरु गरी सकिएको छ ।’ यसैगरी कोभ्याक्सको २२ लाख ५६ हजार डोज खोप ल्याउनका लागि कुरा भैरहेको उहाँले जानकारी गराउनुभयो ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech