भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा घोषणा गर्न माग

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

नेपालगन्जः भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा घोषणा गर्न अस्पताल विकास समितिले सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयश त्रिपाठीलाई ध्यानाकर्षण पत्र बुझाउँदै समितिले नेपालगन्जमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै केन्द्रमा रहेकाले तत्काल यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा घोषणा गर्न माग गरेको हो ।

समितिका सदस्यद्धय कृष्णप्रसाद श्रेष्ठ र धनिराम वलीले काठमाडौंमा स्वास्थ्यमन्त्री त्रिपाठीलाई ज्ञापन पत्र बुझाउँदै ७० लाख बढी जनतालाई सेवाभित्र समेट्न सक्ने यो अस्पतालको पूर्वाधार निर्माण, उपकरणदेखि जनशक्ति व्यवस्थापनसम्मको पहल सरकारले तत्काल गरिदिनु पर्ने माग गर्नुभएको हो ।

सरकारले भेरी अस्पताललाई विशिष्टिकरण सेवा प्रदान गर्ने अस्पतालका रुपमा घोषणा गरिसकेकाले आवश्यक पर्ने जनशक्तिको आधारमा तत्काल दरवन्दी स्वीकृति गरिनुपर्ने माग स्वास्थ्यमन्त्रीसँग राखिएको श्रेष्ठले स्वास्थय पेजलाई बताउनुभयो । स्विकृति भएका विशेषज्ञ सेवाका चिकित्सक समेत अहिले भेरीमा छैनन् ।

यस्तो अवस्थामा सेवा प्रवाहमा कठिनाइ भएको भन्दै श्रेष्ठले यसबिषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । यस्तै चिकित्सकको आवास घर निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने, एमआरआई मेसिन खरिदका लागि बजेट उपलब्ध गराउनुपर्ने, पोष्टमार्टम घर निर्माणका लागि बजेट उपलब्ध गराउनुपर्ने माग पनि मन्त्री त्रिपाठीसँग समितिले राखेको छ ।

यस्तै थप २६० शैयाको नयाँ अन्तरंग विभाग र ओपिडी ब्लकका लागि ७ तले भवन विस्तृत गुरुयोजना बनिरहेकाले त्यसको आधारमा आगामी बजेटमा सुनिश्चितता गर्न आर्थिक वर्षमा आवश्यक प्रक्रिया थालनी गर्न पनि मन्त्री त्रिपाठीसँग आग्रह गरिएको श्रेष्ठले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझेपछि मन्त्री त्रिपाठीले मागप्रति आफु सकारात्मक रहेको बताउनुभएको थियो ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech