विपी प्रतिष्ठानका २७० डाक्टरद्वारा राजीनामा दिने चेतावनी, माग पूरा गर्न एक हप्ते अल्टिमेटम

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

विराटनगरः सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूले बढुवा लगायतका विभिन्न माग राखेर आन्दोलित भएका छन् ।

प्रतिष्ठानका उपकुलपतिले आफ्ना मागहरु सुनवाइ नगरेपछि सामूहिक रूपमा आन्दोलित हुनु परेको चिकित्सकहरुले बताए । प्रतिष्ठानको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजमा आवद्ध डाक्टरहरूले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गर्दै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

उनीहरूले तीन वर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीहरूले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेका छन् । प्राडा गिरी भने काठमाडौंमा रहनुभएको छ । चिकित्सा तथा दन्त-चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा विष्णु पोखरेलले चिकित्सकहरूको माग सुनवाई नभए सामूहिक राजीनामा दिने चेतवीन दिनुभएको छ । उहाँले एक हप्ताभित्र माग पूरा नभए सामुहिक राजिनामा हुन्छ भन्नुभएको छ ।

चिकित्सकहरुले आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरूलाई आवास उपलब्ध गराउन भवन निर्माणका लागि पहल गर्नुपर्ने, विभागीय प्रमुखहरूको रोटेसन मिलाउनुपर्ने, शिक्षकहरूलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिलाउनुपर्ने रहेका छन् ।

यसैगरी प्रतिष्ठानबाट निस्केको क्लिनिकल फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग पनि चिकित्सकहरूले गरेका छन् ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech