बर्दियामा ६१० जनाले लगाए कोरोना विरुद्धको खोप

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७७, आईतवार

गुलरियाः बर्दियामा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका ६ सय बढी व्यक्तिले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेसँगै बर्दियामा पहिलो दिन ६ सय १० जनाले कोरोना बिरुद्धको खोप लगाएको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दिया अस्पताल गुलरिया खोप केन्द्रमा ५ सय ६४ पुरुष र ४६ महिला गरी ६ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । दोस्रो प्राथमिकतामा परेकालाई फागुन ८ गतेसम्म खोप अभियान चलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ।

सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पत्रकारलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरेको हो । पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालकहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउन आयोजित कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले कोरोना विरुद्धको खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै हुने उल्लेख गर्नुभयो ।

बर्दिया अस्पताल गुलरियाका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डेले खोप लगाएको २८ दिन पछि पुनः दोस्रो डोज खोप दिइने भएकाले खोप नछुटाउन आग्रह गर्नुभयो ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech