मोटोपन नियन्त्रण र डाइट प्लान

    • स्वास्थ्य पेज

  • २९ माघ २०७७, बिहीबार

मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ । जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ ।

त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, नियमबद्ध तालिका बनाएर खानपान गर्नु उचित हो ।

जब हामी मोटोपन नियन्त्रणका लागि डाइटिङ गर्न थाल्छौं, सुरुवाती चरणमा निकै रमाइलो लाग्छ । रमाइलो यसकारण कि, हामीले आफ्नो तौल नियन्त्रण भएको अनुभव गर्न थाल्छौं । यद्यपि, डाइटिङको क्रम लामो समयसम्म जारी रहनै सक्दैन । केही दिनपछि नै हाम्रो खानेपानीले पुनः पुरानै गति लिन्छ, हाम्रो ज्यान मोटाउन थाल्छ ।

वास्तवमा यसको एउटा वैज्ञानिक कारण छ । केही दिनको डाइटिङले हाम्रो शरीरबाट क्यालोरी घट्छ । क्यालोरी घटेपछि हाम्रो शरीरको तौल पनि स्वतः घट्छ । प्रारम्भिक चरणमा कम खाना खानु, कतिपय खाना खाँदै नखानु तौल घटाउने राम्रोे उपाय हुनसक्छ । तर, त्यसरी खाना नै खान कम गर्दा शरीरलाई आवश्यक कुनै न कुनै पोषक तत्वको कमी हुन जान्छ ।

परिणामस्वरुप, थकान तथा डिप्रेसनले हामीलाई सताउन थाल्छ । थकान र अल्छिपनाले कामै गर्न मन नलाग्ने भएपछि बाध्य भएर हामी खानेकुरा खाने पुरानै बानीलाई अपनाउँछौं । डाइटिङ बिर्सिएपछि हामी झन् धेरै खाना खान थाल्छौं । परिणामस्वरुप हाम्रँे शरीर पहिलाको भन्दा झन् मोटो देखिन थाल्छ ।

सामान्यतयाः एउटा स्वस्थ पुरुषका लागि दिनको १८ सय तथा महिलाका लागि १५ सय क्यालोरी पर्याप्त मानिन्छ । डाइटिङ गर्ने क्रममा हामीले करिव ५ सय क्यालोरी घटाउन सक्छौं । तर, एउटा अनुसन्धानबाट के पत्ता लागेको छ भने अधिकांश व्यक्तिले क्यालोरीको गणना गलत तरिकाबाट गरिरहेका हुन्छन् । जस्तो, शुक्रवार रेष्टुराँमा गरिएको जंकफूडसहितको डिनरबाट  प्राप्त हुने क्यालोरी भोलिपल्ट जीम गरेर घटिहाल्छ नि भन्ने सोचिन्छ, जुन सोचाइ नै गलत हो । शरीरमा जम्मा भएको क्यालोरी घटाउन त्यति सहज छैन ।

कार्बोहाइड्रेडले शरीरलाई ऊर्जा प्रदान गर्छ । हाम्रो शरीरले प्राप्त गर्ने ५५ देखि ६५ प्रतिशत कुल क्यालोरि कार्बोहाइड्रेट्बाटै प्राप्त हुन्छ । कार्बोहाइड्रेडले हाम्रो शरीरमा इन्धनको झैं काम गर्छ । डाइटिङ गरेको बेला शरीरबाट कार्बोहाइड्रेड कम गर्ने क्रममा ग्लाइकोजनको स्तर घट्ने गर्दछ र शरीर ऊर्जाको वैकल्पिक स्रोत अमिनो एसिडतर्फ उन्मुख हुन्छ ।

त्यसबाट मांशपेशी भित्र भएका तन्तूहरुलाई नकारात्मक प्रभाव पर्छ । पाचन प्रकृयाका लागि पनि कार्बोहाइड्रेड अनिर्वाय मानिन्छ । त्यसैले डाइटिङ गर्दा कार्बोहाइड्रेडलाई पूर्ण रुपमा कटौती गर्नु हुँदैन, त्यसको साटो सेतो चामल तथा चिनीको साटो फलफूल र सागसब्जीको मात्र बढाउन सकिन्छ भने मैदा र त्यसबाट बन्ने पदार्थहरुको खपत कम गर्नु पर्छ ।

तपाईंले शरीरको तौल घटाउनुको अर्थ शरीरबाट क्यालोरीको मात्रा घटाउनु हो । त्यसका लागि हामीले नियमित शारीरिक अभ्यासका साथै खानपिनमा पनि विशेष ध्यान दिनु पर्छ । खानपिनमा त्यस्ता खाद्यपदार्थलाई समावेश गर्नु पर्छ, जसले क्यालोरी पनि घटाओस् र शरीरमा नकारात्मक प्रभाव पनि नपरोस् ।

सकारात्मक चिल्लो पदार्थ तथा नकारात्मक चिल्लो पदार्थबीचको फरक थाहा पाउनु पर्छ । जस्तै रातो मासुको साटो माछा अथवा सेतो मासु अनि दूधबाट बनेका चिल्लोरहित खाद्यपदार्थहरु प्रयोग गर्न सकिन्छ । खानामा ताजा सागसब्जी तथा फलफूलको मात्रा बढाउनु पर्छ । खानाबाट सेतो चिनी, मदिरा तथा टिनको डब्बामा प्याक गरिएका खाद्य पदार्थ खान छाड्नु पर्छ ।

बिहानको नास्ता

बिहान नास्ता अनिवार्य गरौं । नास्ता छाड्ने गल्ती गर्दै नगरौं । नास्तामा उसिनेको अण्डा, फलफूल, सातु, ग्रीन टि समावेश गर्न सकिन्छ ।

खाली पेट नबसौं

बेला बेला केही न केही खाइरहने गरौं । यसरी खाँदा मोटोपन बढ्ने भ्रम धेरैलाई छ । तर, हामी लामो समय भोको बस्छौं र एकै पटकमा धेरै खान्छौं, जसले मोटोपन बढाउने गर्छ ।

फलफूल, सलाद र सागसब्जी

आफ्नो दैनिक खानेकुरामा फलफूल, सलाद र सागपातलाई प्राथमिकतामा राखौं । मौसमी फलफूल पर्याप्त मात्रामा सेवन गरौं ।

पुग्दो पानी

पुग्दो मात्रामा पानीको सेवन गरौं । पानीको साटो कोल्ड ड्रिंक, चिया कफी वा यस्तै पेय उचित हुँदैन । संभव भएसमम सादा पानी नै पिउनु उचित हुन्छ ।

चपाएर खाने गरौं

राम्ररी चपाएर मात्र खानेकुरा सेवन गरौं । ठोस पदार्थलाई मुखमा नै तरल बनाएर निल्नुपर्छ भनिन्छ ।

रातको खाना

रातको खाना हल्का, सुपाच्य हुनुपर्छ । सकेसम्म सुप वा फलफूल खानु उचित हुन्छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech