यस कारण दुई बालबालिका चिन्ह भएको प्याकेटको आयोडिन नुन खाऔं

आयोडिन महिना


    • स्वास्थ्य पेज

  • २७ माघ २०७७, मंगलवार

नेपालगन्जः आयोडिनको महत्व र आवश्यकताबारे जनचेतना जगाउने उद्देश्यले सरकारले फ्रेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइरहेको छ । फ्रेबुअरी १ बाट एक महिनासम्म आयोडिन मन्थ अर्थात आयोडिनयुक्त महिना चल्छ ।

आयोडिनयुक्त नुनको प्रर्वद्धन र यसको कमीबाट हुने शारीरिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले एक महिनाभर सचेतनामूलक कार्यक्रम गरिने साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड नेपालगन्जका प्रमुख मनोज चौधरीले बताउनुभयो । एक स्वस्थ्य व्यक्तिलाई दैनिक औषत १ सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने उहाँँको भनाइ छ ।

सरकारले आयोडिन बाट हुने असर न्युनिकरण गर्न एक महिनाभरी प्रचार प्रसारका कार्यक्रम गर्ने उद्देश्यले मंगलवार नेपालगन्जका पत्रकार तथा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ। साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडसँगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँले बाँकेमा अझै पनि ढिके नुनको प्रयोग भइरहेको पाइएको बताउनुभयो ।

भारतसँग सीमा जोडिएका ग्रामीण वस्तिमा ढिके नुनको प्रयोग हुने गरेको उहाँको भनाइ छ । ढिके नुनमा आवश्यक मात्रामा आयोडिन नहुने भएकाले स्वास्थ्यका लागि त्यो लाभदायक नरहेको चौधरीले बताउनुभयो । आयोडिन थाइराइड ग्रन्थिलाई सही किसिमले काम गर्न र खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्न अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ भएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो । आयोडिनले शारीरिक तथा मानसिक वृद्घि र पाचन प्रणालीलाई सहयोग पुर्याउने उहाँको भनाइ छ ।

आयोडिन सबैलाई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पोषक तत्व भएको र वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा आयोडिन चाहिने बस्नेतले बताउनुभयो । आयोडिनको सेवनले शरीरको छाला, नङ र कपाललाई स्वस्थ राख्नका साथै आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्ने र हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट पनि पार्ने भएकाले आयोडिनको सेवन गर्न आवस्यक रहेको अन्तरक्रियामा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै हेल्थ असिस्टेन्ट तेज वलीले बताउनुभयो ।

आयोडिनको कमि हुँदा थाइराइड ग्रन्थिमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष–परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको जोखिम हुन्छ । महिलालाई अन्य समयभन्दा गर्भावस्थामा बढी मात्रामा आयोडिनको आवश्यकता पर्ने हेल्थ असिस्टेन्ट वलीले बताउनुभयो ।

गर्भावस्थामा आयोडिनको कमी भएमा भुर्णको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कम तौल भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने चिकित्सकहरु बताउँछन् । आमा गर्भवती हुदाँ आयोडिनको कमी भएमा रक्तचाप बढ्ने, बच्चाको शारीरिक र मानसिक विकास उचित रुपमा नहुने र बच्चा अपांगता हुने, बालबालिकाहरुमा बोल्ने, हिड्ने, पढ्ने, सिक्ने आदि कलाहरु राम्रोसंग विकसित नहुने समस्या देखिने जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतमले उपभोक्तामा आयोडिन नुनको महत्व र आवश्यकताबारे चेतना फैलाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech