खजुरामा निशुल्क आँखा शिविर: ११२ जनाले सेवा लिए, १६ को शल्यक्रिया हुने

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

नेपालगन्जः बाँकेको खजुरामा जनतासंँग स्थानीय सरकार कार्यक्रम अन्तर्गत सोमवारदेखि जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर सुरु गरिएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको सहकार्यमा वडा नम्बर १ देखि ८ सम्म शिविर सुरु गरिएको हो ।

पहिलो दिन सोमवार वडा नं. १ मा शिविर गरियो । उक्त शिविरमा १ सय १२ जनाले सेवा लिएका छन् । तीमध्ये १६ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था देखिएको छ । उनीहरुको फत्तेवाल आँखा अस्पतालमा शल्यक्रिया गरिने छ ।

शिविरमा सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच, औषधि बितरण र करिब एकसय जनाको निःशुल्क शल्यक्रिया गरिने जनाईएको छ ।

जनताका समस्यासंँग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले यो कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालनमा आएको हो ।

वडा नं. १ मा सञ्चालित शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनताका प्रत्यक्ष गुणासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । उहाँले समस्याको अवस्था हेरि तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने बताउनुभयो ।

खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, भिजन आँखा अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतम, वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकाल, स्थानीय मगनसिंह थापाले यस्ता कार्यक्रमले जनता लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech