दोस्रो चरणको खोप अभियान आजबाट सुरु, कुटनीतिक नियोगका कर्मचारी र पत्रकार प्राथमिकतामा

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

काठमाडौं: कोरोना भाइरस विरुद्धको खोप अभियानअन्तर्गत आजबाट दोस्रो चरणको खोप अभियान सुरु हुदैछ ।

भारतबाट अनुदानमा आएको १० लाख डोज कोभिशिल्ड पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । यो जनसंख्यालाई दोस्रो डोजसम्म दिँदा तीन लाख ६९ हजार ७१४ डोज खपत हुन्छ ।

सरकारले भारतले दिएको १० लाख डोज खोप पहिलो चरणमा ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाएको थियो ।

तर, योजना बनाए अनुसार लक्षितवर्गले खोप नलाएपछि पहिलो चरणको खोप बचेको हो ।त्यसबाट बचेको खोप थप गरिएको वर्गलाई दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा सञ्चारकर्मी, कूटनीतिक नियोगका कर्मचारी पहिलो प्राथमिकतामा 

पहिलो चरणको खोप अभियानमा खोप बचेपछि दोस्रो चरणमा सञ्चारकर्मी, कूटनीतिक नियोगका कर्मचारी , विदेशी कर्मचारीको हकमा तीनका परिवारलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको छ ।

मन्त्रालयका अनुसार आज सोमबार काठमाडौं उपत्यकाबाट सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ भने मंगलबारदेखि देशका ७७ वटै जिल्लाबाट खोप वितरण गरिनेछ ।

काठमाडौंको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

पहिलो चरणमा प्रदेश नम्बर १ मा २४ हजार २२४, प्रदेश नम्बर २ मा २५ हजार ६३७, वाग्मतीमा ६३ हजार ३०८ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका थिए ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech