दोस्रो चरणको खोप भोलिदेखि: कुटनीतिक नियोगका कर्मचारी र पत्रकार प्राथमिकतामा

    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

तस्बिर:फाइल

काठमाडौंः सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ । पहिलो चरणको अभियान शनिबारबाट सकिएको छ।

तर पहिलो चरणका लागि ल्याइएको खोप बचेपछि सरकारले यस अन्तर्गत नै सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

प्रवक्ता गौतमका अनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

उनीहरूलाई भोलिदेखि शुक्रवारसम्म खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ ।

खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ । यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज छलफल गरेर निर्णय गर्ने तयारी भइरहेको प्रवक्ता गौतमको भनाइ छ ।

गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोजअन्तर्गत खोप अभियान सुरु भएको हो ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech