६८ औं विश्व कुष्ठरोग दिवसः निवारण चुनौतिपूर्ण

सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् ।


    • मानव नेपाली

  • १८ माघ २०७७, आईतवार

‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग ब्यबस्थापनमा सक्रियता’ भन्ने मुल नाराका साथ आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने माईकोब्याक्टेरियम लेप्रे नामक शुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानवमा कुष्ठरोगको किटाणुसंग लडनसक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने ब्यक्तीलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ । सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन । यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिसत रोगका किटाणुलाई शिथिल बनाई रोग अरुलाई नसर्ने हुन्छ । समयमै उपचार गरेमा कुष्ठरोग पुर्ण रुपमा निको हुन्छ र अपांगता हुँदैन ।

नेपालमा आ.ब.०७६/७७ मा पत्तालागेका नयाँ बिरामी १८५३ जना छन भने आ.ब. को अन्त्यमा उपचारमा रहेका बिरामी २०४४ जना छन । नयाँ बिरामी मध्ये १४ बर्ष मुनिका १४१ जना छन भने नयाँ बिरामी मध्ये असमर्थताको तह २ भएको संख्या १०१ छ । यसैगरि नयाँ बिरामी मध्ये ० देखि १४ बर्षका असमर्थताको तह २ भएका ६ जना रहेका छन । नयाँ बिरामीमध्ये महिला बिरामी को संख्या ७७० रहेको छ र नयाँ बिरामी मध्ये एम.बी. बिरामीको संख्या १२५५ रहेको छ । लुम्बिनी प्रदेशमा आ.ब. ०७६/७७ को अन्त्यमा बिरामीको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ०.८३ रहेको छ भने नयाँ बिरामीको संख्या ४७८ जना रहेको छ । यसैगरी बाँके जिल्लामा प्रति १० हजार जनसंख्यामा आ.ब. ०७६/७७ को अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप दर २.२१ रहेको छ र प्रति १ लाख जनसंख्यामा पत्तालागेका नयाँ बिरामी दर २२.१० छ जसले गर्दा बाँके जिल्लामा कुष्ठरोग जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ ।

विशेषगरी तराईका १७ जिल्लामा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् ।नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ । नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ । कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले जोखिम बढ्दै गएको विज्ञको भनाइ छ ।

कुष्ठरोग के हो र यो के कारणबाट हुन्छ ?
कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला, स्नायु (नसा) मा असर गर्दछ। कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन्। यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।

कुष्ठोग कसरी सर्छ ?
उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। तर, यो निकै कम सरुवा रोग हो। साधारणतया यो रोग सरेको १ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्न सक्छन्।

कुष्ठरोगको चिह्न र लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।
स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि।

कुष्ठरोग कति प्रकारका छन् ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
१० बढी किटाणु भएको
(एमबी) कुष्ठरोग
२० कम किटाणु भएको
(पीबी) कुष्ठरोग
यसको उपचार बहु औषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहु औषधिको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठरोगको उपचार के हो ?
माथि उल्लेख गरिएजस्ता कुनै पनि चिह्न तथा लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ। यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। धेरै किटानु भए २४ महिनासम्म औषधि खानु पर्ने हुन्छ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठरोगको उपचार नगरे के हुन्छ ?
कुष्ठरोगको किटाणुले छाला र खास गरेर हात, खुट्टा र अनुहारका सतहका स्नायुहरूमा असर गर्ने हुँदा समयमा उपचार नगरे मांसपेसी कमजोर हुने, औंला खुम्चने र पछि आपाङ्गता हुन सक्दछ। परिवार तथा समुदायमा रोग सर्न सक्दछ। ल कुष्ठरोगको ओषधि कहाँ पाइन्छ ? नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका साथै प्रेषण केन्द्रहरूमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ।

चुनौति र निवारण
कुष्ठरोगका बिरामी तथा प्रभावितहरु प्रति सामाजिक भेदभावलाई सुन्य बनाउने, गुणस्तरीय उपचार सेवाको निरन्तरता, रोगको संक्रमणलाई घटाई कुष्ठरोग सुन्य समाज निर्माण गर्ने, कुष्ठरोग निवारणको स्थितिलाई दिगो राख्ने, प्रभावितहरुलाई समुदायमा आधारित पुर्नस्थापना गर्ने, सबै नगर/गाँउपालिकाहरुमा कुष्ठरोग निवारण गर्ने र कुष्ठरोगसंग सम्बन्धित जनशक्तिको ब्यबस्थापनका पक्षहरु हाम्रा लागी चुनौतीका रुपमा रहेका छन ।

अन्त्यमा, कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सहि जानकारी दिने तथा प्रचार प्रसार गर्ने, कुष्ठरोगको बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलब्धता बारेमा जानकारी गराउने, कुष्ठरोगको संका लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाई रोग निदान र उपचारमा सहयोग पुर्याउने र कुष्ठरोगका बिरामी र प्रभावितलाई आ–आफ्नो परिवार र समुदायमा भेदभाव हुन नदिन रोग बारेमा सत्य तथ्य जानकारी दिने कार्यमा सरोकारवालाहरुको महत्वपुर्ण भुमिका रहेको हुनाले कुष्ठरोग निवारणको महान अभियानमा ऐक्यबद्धताका साथ लाग्न हार्दिक अपिल गरिन्छ ।

(स्वास्थ्य कायालय बाँकेका जनस्वास्थ्य निरीक्षक मानव नेपाली कुष्ठरोग फोकलपर्सन समेत हुनुहुन्छ )

 

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech