योगको परिचय तथा योगाभ्यासका फाइदाहरू

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

आधुनिक युगमा विज्ञान तथा प्रविधिको तीव्र विकासले एक स्थानमा बसी मानिस विभिन्न क्रियाकलापहरु गर्न सक्ने भएको छ । पहिलेको तुलनामा आज मानिस शारीरिक श्रमबाट टाढिदो अवस्थामा छ ।

यसले शरीरमा यान्त्रिकता ल्याएको छ र मनलाई तनावग्रस्त बनाएको छ। जीवन पद्धतिमा आएको यो निस्कृयताले मानिसमा अनेकौं रोगहरु देखिएका छन्। शारीरिक व्यायाम/योगाभ्यासले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन तथा विशेषतः नसर्ने रोगहरुबाट बच्न फाइदा पु¥याउनुका साथै स्वस्थकर दीर्घजीवन प्रदान गर्ने यथेष्ट वैज्ञानिक प्रमाणहरुको पृष्ठभूमीमा योगको महत्वको बारेमा जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अष्टाङ्ग योग:

१. यमः

योग गर्ने व्यक्तिले योग गर्नु भन्दा अगाडि आफूले के गर्ने वा के गर्न नहुने भन्ने नियमको पालना गर्नु पर्दछ ।

क) सत्य (साँचो बोल्ने),

ख) अहिंसा

ग) अस्तेय (चोरी नगर्नु)

घ) ब्रह्मचार्य (संयमित जीवन यापन गर्नु)

ङ) अपरिग्रह (जति आवश्यक हो त्यसैमा संतुष्ट रहनु) आवश्यकता भन्दा बढी संग्रह नगर्ने।

२. नियमः

योग गर्ने व्यक्तिले योग गर्नुभन्दा अगाडि सामाजिक नियमको पालना गर्नु पर्दछ ।

क) शौच (सफा रहनु)

ख) सन्तोष

ग) तप

घ) स्वाध्याय

ङ) इश्वर प्रणिधान

३.आसनः

शरीरलाई स्वस्थ, निरोगी र स्थिर रहन विभिन्न आसनहरु (पद्मासन, बज्रासन आदि) मा सुखपूर्वक वस्नु ।

४. प्राणायामः

श्वास प्रश्वासको माध्यमबाट प्राणशक्तिको क्षमतालाई विस्तार गर्नु ।

५. प्रत्याहारः

इन्द्रियहरुलाई नियन्त्रित राख्नु ।

६. धारणा:

कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुनु ।

७. ध्यान:

एकाग्रतालाई (धारणा) अटुट र गहिरो बनाउनु।

८. समाधिः

चित्त (मन) लाई एकाग्र गरी ध्येय वस्तुको केन्द्रविन्दुमा चित्तलाई लगाइ लामो समयसम्म लीन गराई राख्नु। उपरोक्त योगका आठ वटै अंग अत्यन्त उपयोगी छन् र सोको विद्यार्थीकालदेखि नै पालना गर्नाले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जीवन यापन गर्न र एकाग्र चित्त भै अध्ययन गर्न मद्दत पुग्दछ ।

योगाभ्यासका फाइदाहरू:

–योगले शरीरका अङ्ग प्रत्याङ्गहरूलाई चलायमान, उर्जावान, आवश्यकता अनुसार सक्रिय वा शान्त राख्छ र सकारात्मक प्रभाव पार्छ ।

– योगको अभ्यासले हाडजोर्नी नशानाडी र मांसपेशी, फोक्सो, मुटु, रक्तनली, पाचन तथा निष्कासन अङ्गहरूलाई स्वास्थ र सवल बनाउँछ । – योगको उचित अभ्यासले कम उमेरका ब्यक्तिमा उचाइ बढाउन सघाउँछ । स्मरण क्षमता वृद्धिमा सहयोगी हुन्छ, शरीरलाई तन्दुरूस्त बनाउँछ र स्वस्थ रहन सहयोग गर्छ ।

– नियमित योगाभ्यास गर्नाले नसर्ने रोगहरूको जोखिम कम हुन्छ ।

– नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, हाडजोर्नी, नसासम्बन्धी रोगहरूमा यो लाभदायक छ ।

– योगले जीवनशैलीलाई व्यवस्थित बनाउँछ र खराब जीवनशैलीका कारण उत्पन्न समस्याको जोखिम न्यून गर्दछ ।

– योगले मनलाई शान्त, आनन्दित, उत्साहित र उर्जावान बनाउँछ । यसले मानसिक समस्याहरू जस्तै तनाव र चिन्ताजन्य समस्याहरू, बेचैनी, नकारात्मक सेग, आलस्यता लगायत रिस, इर्ष्या, हीनताबोध, शङ्काबोधजस्ता नराम्रा भावहरूलाई घटाउँछ । यसले मानसिक सबलता वृद्धि गर्छ र मनको कमजोरी हटाउँछ ।

– योगले व्यक्तिलाई अनुशासित बनाउँछ । धुम्रपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन र लागु औषध सेवनजस्ता कुलतबाट बचाउन मद्दत गर्दछ ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech