खोप केन्द्रमा व्यस्त नर्सले यसरी मनाए नर्सिङ दिवस

५९ औं नेपाल नर्सिङ दिवस


    • स्वास्थ्य पेज

  • १५ माघ २०७७, बिहीबार

नेपालगन्जः
आज नेपाल नर्सिङ दिवस। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा रोशनी लक्ष्मी तुइतुईका अनुसार २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना गरेका थिए।

सोही दिनको सम्झनामा यो दिवस हरेक वर्ष माघ १५ गते देशभरका नर्सहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्। नर्सिङ क्षेत्रका विभिन्न संघसंस्था तथा अस्पतालमा आवद्ध नर्सहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन्। तर खोप केन्द्रमा व्यस्त नर्सहरुले भने ड्युडीमा नै नर्सिङ दिवस मनाएका छन्।

‘आज बिहान साढे १० बजेदेखि नै खोप कार्यक्रम थियो-‘विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म त्यही व्यस्त भइयो भेरी अस्पतालको खोप केन्द्रमा खटिएकी सिनियर अनमी कमला शाहले भन्नुभयो-‘खोप लगाएरै नर्सिङ दिवस मनाइयो ।’ कोरोना भाइरस विरुद्धको खोप लगाउँदा उत्साहित भएको उहाँले स्वास्थ्य पेजलाई बताउनुभयो ।

‘यसपालिको मेरो नर्सिङ दिवस खोप लगाउनमा व्यस्त भयो उहाँले भन्नुभयो-‘करिव ५ सयको हाराहारीलाई खोप लगाइयो ।’ पीपीई लगाएर खोप लगाइदिन व्यस्त शाहले भाइरस संक्रमण विरुद्धको खोप अभियानमा ढुक्क भएर सहभागी हुन पनि आग्रह गर्नुभयो ।

भेरी अस्पतालकी अर्की नर्स यमकुमारी थापाले कोरोना भाइरस विरुद्धको खोप अभियानमा सहभागी हुँदा आज नर्सिङ दिवस भन्ने नै बिर्सिएको बताउनुभयो । खोप लगाउने काममा व्यस्त हुँदा आज नर्सिङ दिवस भन्ने नै विर्सिए उहाँको भनाइ थियो । कोरोना भाइरस विरुद्धको खोप अभियान बुधवारदेखि देशभरी शुरु भएको छ ।

भेरी अस्पताल खोप केन्द्रमा बाँकेका फ्रन्टलाइनरहरुलाई खोप लगाउने काम भइरहेको छ । ‘अघिल्लो वर्षमा साथीहरुसँग मनाइन्थ्यो, यो वर्ष कोरोना भाइरस विरुद्धको भ्याक्सिनेसन कार्यक्रममा व्यस्त भइयो,’ थापाले भन्नुभयो । पहिलो दिन खोप लगाइदिन डर महसुस भएको उहाँले अनुभव सुनाउनुभयो ।

तर आज भने उत्साहीत भएर खोप लगाइयो उहाँको थप भनाइ छ । अघिल्ला वर्षहरुमा नर्सिङ स्टाफहरुसँग सेलिब्रेसन गरेर नर्सिङ दिवस मनाउने उनीहरु यसपालि भने ड्युटीमै व्यस्त भए ।

 

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech