नेपालमा कोरोना विरुद्धको खोप शुरु भएकोमा राष्ट्रपति हर्षित

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएकोमा आफू यसबाट हर्षित भएको बताउनुभयो ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निस्शुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णय सह्रानीय भएको भन्दै राष्ट्रपति भण्डारीले सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गर्नुभएको छ ।

खोप अभियानलाई सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मी लगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको भन्दै भण्डारीले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एक अर्काको बीचमा कम्तिमा २ मिटरको दूरी कायम राख्‍न र पटक पटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड(१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउन सबैमा आह्वान समेत गर्नुभएको छ ।

विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्दछ भन्ने नेपालको स्पष्‍ट मान्यता रहेको उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘कोभिड १९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चूनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । कोभिड(१९ विरूद्धको अभियानमा अग्रपंक्तिमा रही सेवा प्रदान गर्नुहुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाई कर्मचारी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यसैगरी उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गर्दछु।’

‘कोरोना महामारी नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ,’ सन्देशमा भनिएको छ, ‘यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ।खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु।’

 

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech