लुम्बिनी प्रदेशमा ३९ हजारलाई कोभिड विरुद्धको खोप दिन शुरु

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

बुटवलः लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिड विरुद्धको खोप अभियान शुरु भएको छ। प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई खोप लगाउन थालिएको हो।

खोप अभियानको आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेलले शुभारम्भ गर्नुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाउनभयो। उहाँले सर्वसाधारणमा खोपप्रतिको आशङ्का हटाउने सन्देशका लागि आफूले नै पहिलो खोप लगाएको बताउनुभयो ।

सो खोपको दोस्रो डोज पुनः २८ दिनपछि लगाइने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा सरकारले ३९ हजार ४९५ जनाको लागि आठ हजार ७६८ भायल खोप आएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४२० डोज छुट्याइएको छ। यो खोपको आज एकै दिन प्रदेशअन्तर्गत तराईका छ जिल्लाका आठवटा खोप केन्द्रहरुमा शुभारम्भ गरिएको समेत उहाँले जानकारी दिनुभयो। प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट शुभारम्भ गरिने छ।

लुम्बिनी प्रदेशअन्तर्गत आज शुरु गरिएका केन्द्रहरुमा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवा, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लामा भने सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा केन्द्र तोकेर खोप सेवा शुरु गरिएको डा पौडेलले जानकारी दिनुभयो ।

 

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech