बर्दिया अस्पताल गुलरियामा पनि खोप अभियान सुरु

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

नेपालगन्जः बर्दियामा पनि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । बर्दिया अस्पताल गुलरियाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा सुभाष पाण्डे, सर्जन डा विजय उपाध्याय, अस्पताल व्यवस्थापक अधिकृत डा बसन्त खनाल र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरिएको हो ।

खोप लगाएपछि स्वास्थ्य पेजलाई प्रतिक्रिया दिदै मेसु डा पाण्डेले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँले अनावश्यक हल्लाको पछि नलाग्न आग्रह पनि गर्नुभएको छ । हरेक खोप लगाएपछि कुनै न कुनै रुपमा साइडइफेक्ट देखिने भए पनि त्यसबाट डराउन नपर्ने बताउनुभयो ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले खोप लगाइरहेका छन् । साइडइफेक्ट देखिए त्यसको व्यवस्थापनको तयारी समेत गरिएको डा पाण्डेले बताउनुभयो । आज र भोलि बर्दिया अस्पताल, स्वास्थ्य कार्यालय, मधुवन नगरपालिका र गुलरिया नगरपालिकाका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वयसेविका, एम्वुलेन्स तथा शवबाहक चालकलगायतका फ्रन्टलाइनरलाई खोप लगाइने छ ।

त्यस्तै १६ र १७ गते ठाकुरबाबा नगरपालिका, बासगढी, बारबर्दिया र बढैयाताल गाउँपालिका र १८ र १९ गते राजापुर र गेरुवा पालिकाका फ्रन्टलाइनरहरुलाई खोप लगाउने कार्यतालिका बनेको कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो । भारतले अनुदानमा दिएको १० लाख डोज खोप पहिलो चरणमा आजदेखि देशभरीका फ्रन्टलाइनरहरुलाई लगाउन थालिएको हो ।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech