डुडुवा बन्यो बाँकेकै पहिलो पूर्णखोप सुनिश्चित पालिका

    • स्वास्थ्य पेज

  • १३ माघ २०७७, मंगलवार

नेपालगन्जः
बाँकेको डुडुवा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । पालिकामा रहेका सबै बालबालिकाले सबै प्रकारका खोपहरु लगाएपछि पालिकालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो ।

मंगलवार एक कार्यक्रमको आयोजनागरी पालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पूर्णखोप सुनिश्चितता तथा दीगोपनाको घोषणा गर्नुभएको हो । जन्मदेखि १५ महिनासम्मका १ हजार ४ सय ४१ जना बालबालिकाले सबै प्रकारका खोपहरु प्राप्त गरेको बुढाले बताउनुभयो । १६ देखि २३ महिनाका १ सय ८७ जना बालबालिका पूर्ण खोप लिन छुटेका थिए ।

ती बालबालिकाहरुलाई पनि घरदैलो गरेर खोप दिइएपछि पालिकाभित्र रहेका उमेर पुगेका सबै बालबालिकाले खोप लिएका छन् । घोषणा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष चौधरीले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर पालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्यका क्षेत्रमा कुनै पनि कमिकमजोरी नहुनेगरी र सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो ।

जिल्लाकै पहिलो पूर्णखोप पालिका भएपछि प्रदेश सरकारले पालिकालाई प्रमाणपत्र समेत दिएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले उक्त प्रमाणपत्र पालिका प्रमुख चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech