१४ देखि १८ गते सम्ममा पहिलो चरणको खोप लगाइ सकिन्छः प्रधानमन्त्री

    • स्वास्थ्य पेज

  • १२ माघ २०७७, सोमबार

दाङ:

प्रधानमन्त्री ओलीले कोभिड-१९ को खोप पर्सी बुधबारबाट लगाउन सुरु गरिने बताउनुभएको छ । दाङमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बुधवार १४ गतेदेखि सुरु गरेर १८ गते सम्म पहिलो चरणको खोप लगाइ सकिने स्पष्ट पार्नुभएको हो । प्रधानमन्त्री ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने भनेको छ। अस्पतालको संख्या बढ्न सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जनाकारी दिनुभयो ।

उहाँका अनुसार सबै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र बनाइने छ। उहाँले केही पहाडी जिल्लामा भने एकदुई नि ढिलाइ हुनसक्ने बताउनुभयो ।

काठमाडौं उपत्यकाका हकमा भने महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल तोकेको छ। जसमा काठमाडौंका गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, वीर अस्पताल, प्रसुति गृह, टेकु अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेज छन्।

यसैगरी ललिपुरमा पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पताल तोकिएको छ। भक्तपुरका कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट पनि खोप लगाइने छ।

उपत्यकाबाहेक चितवन, कास्की, रुपन्देही र मोरङजस्ता धेरै अस्पतालको संख्या भएका जिल्लामा पनि एकभन्दा बढी अस्पतालबाट खोप लगाइने महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो। बाँकी जिल्लाका हकमा भने जिल्ला अस्पतालबाटै खोप लगाइने उहाँले बताउनुभयो।

सरकारले सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी गरेको छ। जसमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी, एन्बुलेन्स चालक र कोरोना नियन्त्रणमा खटिने अन्य कर्मचारी रहेका छन्। सरकारले गत बिहीबार भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउन लागेको हो।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech