चितवनमा एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा

    • स्वास्थ्य पेज

  • ११ माघ २०७७, आईतवार

चितवनः
चितवनमा रहेका ३४८ एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो ।

फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बिमा गरेका हुन् ।

संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत संक्रमित रहेको सापकोटाले बताउनुभयो ।

जिल्लामा अहिले एक हजार ९२६ संक्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन् ।

सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये चार बालबालिका रहेका छन् । आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउन्डेसनका स्रोत व्यक्ति डा। युवानिधि बसौलाले जानकारी दिनुभयो ।

बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ को मृत्यु भएको छ । मृत्यु हुनेमा एक कोरोना संक्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech