चीनले उत्पादन गरेको खोप नेपालमा कहिले आउँला ?

    • स्वास्थ्य पेज

  • ११ माघ २०७७, आईतवार

काठमाडौंः
विश्वका धेरै मुलुकमा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । दर्जनौ मुलुकले खोप ल्याउने योजना बनाइरहेका छन् । यतिबेला विश्वभर नै कोरोना खोपको माग उच्च छ ।

यसबीच चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग पनि विश्वभर बढ्दै गएको छ । अनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले पनि विश्वभर विश्वास जित्न थालिसकेको छ ।

अहिले चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना खोपको प्रयोग फिलिपिन्स, इन्डोनेसिया र टर्कीमा भइरहेको छ भने ब्राजिलले पनि यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । त्यस्तै अर्को चिनियाँ कम्पनी सिनोर्फमले बहराइन, यूएई, इजिप्ट, हंगेरीलगायत मुलुकमा सम्झौता गरिसकेको छ ।

तर नेपालमा भने चिनियाँ खोप ल्याउने सम्बन्धमा कुनै पनि प्रगति भएको देखिँदैन । चिनियाँ कम्पनीले उत्पादन गरेका कुनै पनि खोपले अहिलेसम्म नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति पाएका छैनन् ।

भारतले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराएको छ । कोरोनाको महामारी शुरु भएदेखि नै मास्कदेखि विभिन्न औषधी उपलब्ध गराउँदै आएको चीन खोपको सम्बन्धमा भने मौन छ ।

सरकारी अधिकारीहरुले पनि केही बोलेका छैनन् । भारतले खोप उपलब्ध गराएको भोलिपल्ट चिनियाँ अधिकारीहरुले नेपालमा आपत्कालीन प्रयोगका लागि पूरा गर्नुपर्ने आवश्यक कागजात र प्रक्रियाबारे मन्त्रालयसँग परामर्श चाहिँ गरेका छन् ।

अन्य देशहरुले भने चिनियाँ कम्पनीले निर्माण गरेको खोप किन्ने प्रक्रिया अगाडि बढाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सर्वियाका राष्ट्रपति एलेक्सेन्डर भुकिकले पनि आफूले सिनोर्फमले विकास गरेको कोरोना खोप लिने बताएका छन् ।

अमेरिका, बेलायत र रुसबाट समेत कोरोना खोप मुलुकमा ल्याइएसकेको सर्वियाका राष्ट्रपतिले यति विश्वास गर्नुले पछिल्लो समय चिनियाँ खोपको स्वीकार्यता बढेको देखाउँछ ।

कोरोना महामारी नियन्त्रणको लागि चिनियाँ कम्पनीले विकास गरेको खोप विश्वका सबै मानिसको सार्वजनिक सम्पत्ति हुने चिनियाँ शीर्ष अधिकारीहरुले यसअघि नै बताइसकेका छन् । यस्तोमा विश्वको महामारी नियन्त्रणको प्रमुख भूमिकामा आउने अवसर पनि चिनियाँ कम्पनीले पाएको विश्लेषकहरुको भनाइ छ ।

 

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech