बालबालिकालाई चिसोमा यसरी जोगाउन सकिन्छ

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

नेपालगन्ज ९ माघ ।
बालबालिकालाई चिसोबाट जोगाउन विशेष सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिन्छन्। बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडाबान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् ।

विशेषगरी पाँच वर्षभन्दा कम उमेरकालाई रुघाखोकी र निमोनिया हुन सक्ने नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका बालरोग विशेषज्ञ डा पियूस कनोडिया बताउँनुहुन्छ । ‘पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ। डा कनोडियाका अनुसार अहिले चिसोको कारण अस्पतालमा भर्ना हुने बालबालिकाको संख्या बढेको छ ।

चिकित्सकहरुका अनुसार घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई परै राख्नुपर्छ। भीडभाडमा पनि लैजान हुँदैन। यदि जोगाउँदाजोगाउँदै पनि रुघा लागेमा साना बच्चालाई नाक थुनिन्छ। त्यस्तो बेलामा बच्चाको नाक नुनपानीले सफा गरिदिनुपर्छ। चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ पनि गराउन सक्छ। डा कनोडियाले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन आग्रह पनि गर्नुभयो ।

उहाँले दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउनुपर्ने बताउनुभयो। बालबालिकालाई दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिँदा पनि उनीहरूमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। आमाको दूध खाने बच्चालाई चाडो मौसममा छिटोछिटो दूध खुवाउनुपर्छ।

बच्चालाई चिसोबाट जोगाउन बिहान उठ्नासाथ अदुवा, मरिच, ल्वाङ, सुकुमेल राखेर कालो चिया खुवाउनुपर्छ। सुत्ने बेलामा तातो दूधमा बेसार हालेर दिनुपर्छ र तातोपानीमा मह मिसाएर खुवाउँदा पनि चिसोबाट बचाउन सकिन्छ।

अर्का बाल विशेष डा बिष्णु थापाले पनि बालबालिकालाई चिसोमा विभिन्न खालको समस्या आउन सक्ने भन्दै चिसोबाट जोगाउन सल्लाह दिनुहुन्छ। बाहिर हिँडाउँदा बालबालिकाहरूलाई शरीर पूरै छोप्ने लुगा लगाइदिन उहाँको सुझाव छ । कोठामा बस्दापनि सकेसम्म तापक्रम म्यानेज गर्न डा थापाको सुझाव छ ।

जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरू खेलेर आगो वा हिटरमा पर्नसक्नेमा सचेत हुनुपर्छ। घरका झ्याल ढोका थुनेर आगो बाल्दा कोठामा अक्सिजन कम भई मानिसको मृत्यु हुनसक्नेमा सचेत रहनुपर्ने चिकित्सकको भनाइ छ। घाममा बस्दा शरीरको पानी सोच्ने हुँदा शरीर सुख्खा हुने, चिलाउने डायरिया हुने जस्ता समस्या देखिन सक्छन्, त्यसैले घाममा राखेपछि बच्चालाई प्रशस्त मात्रमा मनतातो पानी पिउन लगाउनु पर्छ।

घाममा बसेर सुन्तला, बदाम खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। सुन्तलामा पानीको तत्व, भिटामिन सी हुन्छ। यसले रुघाखोकी विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ। चिसो मौसममा सुन्तला र कागती उपयुक्त मानिन्छ। साथै बदाम, बेसारले शरीर तताउन सहयोग गर्छ। घाम लागेको बेलामा सबै कपडा खोलेर तोरीको तेलले मालिस गर्दा चिसो लाग्ने सम्भावना कम हुन्छ।

घाममा राखेर तेल लगाउनु भनेको चिसोबाट जोगाउने सबैभन्दा ठूलो औषधि हो। चिसो मौसममा दिनभरिको घाममा राख्न बच्चालाई धेरै फाइदा हुन्छ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech