आजदेखि भारतमा कोरोना भाइरस विरुद्धको खोप सुरु

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

नयाँदिल्ली ३, माघ ।
आजदेखि भारतमा कोरोना भाइरस विरुद्धको निशुल्क खोप कार्यक्रम सुरु भएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई कोरोना खोप दिएर कार्यक्रम सुरु गरिएको छ ।

पहिला कसले पाउँछन् ?

भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरुले कोरोना खोप पाउनेछन् । सबै सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुको संख्या ८० लाखदेखि एक करोडसम्म रहेको बताइएको छ । त्यसपछि करिब दुई करोड फ्रन्टलाइन वर्कर्स अर्थात् प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिइनेछ ।

त्यसपछिको प्राथमिकतामा ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइनेछ । भारतमा यो संख्या २७ करोड छ । सबैभन्दा पहिला जुन क्षेत्रमा कोरोना संक्रमण धेरै छ, सोही क्षेत्रका मानिसहरुलाई बढी प्राथमिकता दिइनेछ । त्यसपछि बाँकी जनसंख्याको पालो आउनेछ ।

भारतमा कुन खोपले अनुमति पाएको छ ?

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ (कोभिसिल्ड र कोभ्याक्सिन । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो । भारतको स्वास्थ्य मन्त्रालयले एक करोड १० लाख डोज कोभिसिल्ड र ५५ लाख कोभ्याक्सिन खोप खरिद गरिसकेको बताएको छ । भारतले आगामी जुन महिनासम्म ३० करोड मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको छ ।

 

 

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech