भ्याक्सिन लगाउँदाको अनुभव

    • नारायण कोइराला

  • २९ पुष २०७७, बुधबार

ड्युटी सकेर आउँदा बाटोको छेउमा लामो लाइन देखियो। हाम्रो बसको बस बिसौनी पनि नजिकै थियो। हामी बसबाट उत्रिएर,भीडलाई सोध्यौँ। यो केको लागि हो? कोरोना भ्याक्सिन लगाउने लाइन हो भनेपछि कोठातिर लागियो। आज कम्पनीमा पनि हामीलाई सूचना दिइएको थियो- पायक पर्ने ठाउँमा भ्याक्सिन लगाउनू भनी।

यहाँको यूएई सरकारले भ्याक्सिन लगाउन सुरु गरेको छ। मजदुरहरुको लागि जता पायक पर्छ उता क्याम्प लागेको छ। यसको लागि यहाँको सरकारलाई धन्यवाद दिनुपर्छ। भ्यक्सिनमा कुनै चार्ज लाग्दैन। यो पनि मजदुरहरुको लागि अति खुसीको कुरो हो।

भ्याक्सिन लगाउनु राम्रो कुरो हो। यत्रो माहामारीको बेलामा आएको भ्याक्सिनले खुसियाली त छाएको नै छ। नयाँ भ्याक्सिन भएकाले मनमा डर पनि उतिकै थियो। साइड इफेक्ट हुन्छ कि भनी मन डराइरहेको थियो। रूममा हामीले छलफल पनि गरियो। अनि भोलि भ्याक्सिन लगाउन जाने लगभग पक्का भयो।

राती भने मनमा अनेक सोचविचार पनि आए। परदेशको ठाउँ नयाँ भ्याक्सिन लाउनु की नलाउनु। नलाउनु पनि कसरी सबैजना लगाइरहेका थिए। लगाएकालाई सोद्धा केही असर छैन भन्दै थिए। अब यहाँको सरकारले सबैलाई राम्रो नै सोच्ने हुँदा धेरै सोच्नुपर्ने अवस्था भएन।

त्यो  रात अलि लामो भएजस्तो लाग्यो। बिहान उठेर ड्युटीतिर लागियो। कम्पनीले फेरिपनि जानकारी गराएको थियो।अब भ्याक्सिन नलगाए कोरोना टेस्टको पैसा आफूले तिर्नुपर्ने रे। त्यो पनि हरेक पन्ध्र दिनमा टेस्ट गराउनु अनिवार्य छ, यहाँ।भ्याक्सिन आएपछि सरकारले पिसिआर टेस्ट र भ्याक्सिन दुवै निःशुल्क गर्ने कुरो पनि भएन।

हामीले बुझेअनुसार भ्याक्सिनको लागि हाम्रो यहाँ एउटा आइडी कार्ड हुन्छ। त्यसको कपि चाहिने रहेछ। हामीले कम्पनीबाट नै फोटोकपी गरी साझ कोरोना भ्याक्सिन लगाउने तयारी गर्‍यौं। सधैंजस्तो बस बिसौनीमा उत्रिएपछि हामी रुममा नगएर भ्याक्सिन लगाउने ठाउँतिर गयौँ।

लाइन लामो भएपनि काउन्टर धेरै हुँदा खासै समय लागेन। हामी छिटो नै भ्याक्सिन लगाउने कुर्चीमा पुग्यौं। व्यवस्था अति नै राम्रो थियो। सामान्य बिपी, सुगरको बारेमा सोधपुछ गरी भ्याक्सिन लगाउन  हामीलाई तयार पारियो। यसो उता हेर्दा हेर्दै भ्याक्सिन लगाइदिए। त्यसपछि हामीलाई बाहिर पठाइयो।भ्याक्सिन लगाउँदा कुनै दुखाइको महशुस नै भएको थिएन हामी रूमतिर लाग्यौँ।

भ्याक्सिन लगाएको पनि तीन/चार दिन भयो। कुनै प्रकारको इफेक्ट देखिएको छैन। समान्य छ ,बाँकी त आउने दिनमा जो थाहा होला। हामी केही नहुने आशमा छौँ। यो भ्याक्सिन लगाएर अब हामी कोरोना प्रकोपबाट मुक्ति पाउनेछौँ भन्ने विश्वास लिएका छौं। अनि नेपालमा पनि छिटो भ्याक्सिन उपलब्ध होस्। हामी यहाँ‚ नेपालमा हाम्रा परिवार इष्टमित्र र सबै नेपाली सुरक्षित हुन सकियोस्। हामी यही कामना गर्दछौं।

(तानसेन पाल्पाका कोइराला कामका शिलशिलामा हाल यूएईमा हुनुहुन्छ।) 

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech