कोहलपुर मेडिकल कलेजको कोभिड आइसोलेसन वार्ड बन्द, ६७२ संक्रमितको उपचार

    • प्रियास्मृति ढकाल

  • २९ पुष २०७७, बुधबार

नेपालगन्ज २९, पुष ।
बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा संचालित कोभिड आइसोलेसन वार्ड वन्द गरिएको छ । संक्रमित विरामीको संख्या घटेसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार तत्कालका लागि कोभिड आइसोलेसन वार्ड बन्द गरिएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

यो अस्पतालमा अहिले एक जनामात्रै संक्रमित विरामी छन् । ती विरामीको स्वास्थ्य अवस्थामा सुधार आइसकेकाले डिस्चार्ज गर्ने तयारीमा अस्पताल रहेको छ । ‘संक्रमितको स्वास्थ्य अवस्था सुधार भइसकेकाले घर पठाउने तयारीमा छौं उपनिर्देशक डा श्रेष्ठले भन्नुभयो–‘तत्कालका लागि अव कोभिडका नयाँ विरामी भर्ना लिइदैनौं ।’

अस्पतालमा आउने विरामीलाई अव भेरी अस्पतालमा संचालित कोभिड विशेष अस्पतालमा रिफर गरिने डा श्रेष्ठको भनाइ छ । भेरीमा अहिले  संक्रमितको संख्या निकै कम छ । ‘संक्रमितको संख्या भेरीले धान्न सकेन भने हामी तयारी अवस्थामै हुने छौं उहाँले भन्नुभयो–‘त्यसैले वेड, आईसीयू र भेन्टिलेटर अन्यत्र सिफ्ट गरिएको छैन् । यो अस्पतालले कोभिडका लागि एकसय बेड छुट्याएको थियो । त्यसमा १५ आईसीयू वेड छन् भने ४ वटा भेन्टिलेटर छन् ।

७ महिनामा ६७२ संक्रमितको उपचार
यो अस्पतालमा ७ महिनामा ६ सय ७२ संक्रमितको उपचार गरिएको छ । ५२ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । जेष्ठको २२ गते पहिलो संक्रमित उपचारका लागि आएका थिए । त्यसपछि विरामीको फ्लो ह्रवात्तै बढ्यो । ‘आजसम्म हामीले ६ सय ७२ केस हेर्यौं डा श्रेष्ठले भन्नुभयो–‘तीमध्ये ५२ जनालाई बचाउन सकिएन । दुईजना हाम्रै स्टाफ पनि पर्नुभयो ।’

भाइरस संक्रमणबाट मृत्यु भएकामध्ये दुई जना मेडिकल कलेजकै स्टाफ थिए । भाइरस संक्रमितको उपचारका क्रममा १ सय १८ जना स्वास्थ्यकर्मी आफै संक्रमित भए । ‘आफ्नो ज्यान जोखिममा राखेर संक्रमितको उपचारमा चौविसैं घण्टा स्वास्थ्यकर्मी खटिनु भयो उहाँले भन्नुभयो–‘संक्रमित भएर पनि विरामीको सेवामा अहोरात्र खटिनुभएको छ । उहाँहरुको कुन शब्दले प्रशंसा गरौं ?’

कोरोना सँगसगै बाँच्न सिक्नु पर्छ
‘पहिलो केस आउँदा स्वयम हामीहरुले पनि खुवै आत्तियौं कोभिड विरामीको उपचारमा नेतृत्वदायी भूमिका निभाउनुभएका डा श्रेष्ठले विगत सम्झदै भन्नुभयो–‘सुरुसुरुमा विरामीलाई भन्दा पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई नै मोटिभेट गर्न गाह्रो भयो ।’ नयाँ रोग भएकाले उपचार कसरी गर्ने भन्नेमै चिकित्सकदेखि स्वास्थ्यकर्मी अलमलमा थिए । भाइरस संक्रमणको त्रासले कतिपय स्वास्थ्यकर्मीलाई परिवारबाटै जागिर छाड्न दवाव आयो ।

‘तर व्यापक पूर्वतयारी, उच्च सावधानी र पेशाप्रतिको जिम्मेवारीले विरामीको उपचार गर्न प्रेरित गर्यो’–उहाँले भन्नुभयो । पछिपछि विस्तारै सबै व्यवस्थापन राम्रो हुँदै गयो । उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि सहज तरिकाले विरामीको उपचार गर्न थाले । घरपरिवारले पनि उत्साह र प्रेरणा दिन थाले । चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल बढ्यो । ‘सधै कोरोनासँग डराएर हुँदैन कोरोना सँगसँगै बाँच्न सिक्ने हो डा श्रेष्ठले भन्नुभयो–‘तर त्यसको लागि केही सावधानी र सजकता भने अपनाउँनै पर्छ ।’

उहाँले आफ्नो आनिवानी परिवर्तन गर्न सुझाव दिनुहुन्छ । सरसफाई, मास्कको अनिवार्य प्रयोग, सेनिटाइजर र भौतिक दुरीको पालना गर्न जरुरी रहेको उहाँको भनाइ छ । भाइरसको जोखिम अहिलेपनि कम नभएको डा श्रेष्ठ बताउँनुहुन्छ । राजनीतिक दलहरुको सडक प्रदर्शनले भाइरस संक्रमण जोखिम बढेको भन्दै उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।

‘हामी ज्यान हत्केलामा राखेर विरामीको उपचारमा खटिरहेका छौं उहाँले भन्नुभयो–‘तर सडकमा भाइरस संक्रमणलाई चुनौति दिने त्यो जुलुस र नारावाजी देख्दा दुःख लाग्छ ।’ स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले भाइरस संक्रमणको जोखिम कायमै रहेकाले भौतिकदुरीको पूर्णपालना गर्न अझैपनि सुझाव दिइरहेका छन् ।

विभिन्न देशहरुमा अहिले नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । जस्का कारण विश्व आतंकित भइरहेको छ । छिमेकी देश भारतमा पनि यस्को संक्रमण देखिसकेको छ । नेपाल भारत खुला सीमा भएका कारण मानिसहरुको ओहोरदोहोर भइरहेको छ । नेपालमा पनि जोखिम उत्तिकै छ । त्यसैले उच्च सावधानी र सतर्कता अपनाउन जरुरी छ । उहाँले विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्डहरु सबैले पूर्णरुपमा पालना गर्ने हो भने भाइरस संक्रमणको जोखिम कम हुने बताउनुभयो ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech