‘होम आइसोलेशनमा बस्ने धेरैलाई मानसिक समस्या’

    • स्वास्थ्य पेज

  • २४ पुष २०७७, शुक्रबार

काठमाडौं २४, पुष ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा सहभागीले मानसिक अशान्ति भए पनि परिवारको साथ र सहयोग पाएको बताएका छन् । सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेशनमा बस्दा मानसिक अशान्ति भएको पाइएको परिषद्ले जनाएको छ ।

होम आइसोलेशनमा बस्ने धेरैलाई छुट्टै कोठा व्यवस्थापन गर्न समस्या देखिएको छ । सर्वेक्षणमा सहभागीमध्ये ४२ दशमलव ८ प्रतिशतले छुट्टै बस्ने कोठा व्यवस्थापनमा समस्या भएको बताएका हुन् । यस्तै २६ दशमलव १ प्रतिशतलाई छुट्टै शौचालय प्रयोगमा समस्या देखिएको र २० दशमलव ७ प्रतिशतलाई आवश्यक सामग्रीको व्यवस्थापन गर्न समस्या देखिएको परिषद्ले जनाएको छ ।

होम आइसोलेशनमा बस्नेलाई परिवारको राम्रो साथ र सहयोग पाइएको पनि अनुसन्धानमा देखिएको छ । सर्वेक्षणमा सहभागी ५ प्रतिशतले मात्र परिवारको साथ नभएको बताएका थिए । यस्तै धेरै कोरोना सङ्क्रमितले घरेलु उपचार गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये ५९ दशमलव ३ प्रतिशत कोरोना सङ्क्रमितले गुर्जो र बेसारको प्रयोग गरेको पाइएको हो । यस्तै ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक उपचार र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको परिषदले जनाएको छ ।

यस्तै सङ्क्रमित भएर उपचार गरिरहेकामध्ये ५९ दशमलव ३ प्रतिशतले घरेलु, ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ ।

अनुसन्धानका क्रममा लक्षणसहितका सङ्क्रमितमा ज्वरो, खोकी, चिसो महशुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध थाहा नहुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी र जोर्नी दुख्ने तथा वाकवाकी हुने समस्या देखिएको छ ।

अध्ययनमा सहभागी सङ्क्रमितमध्ये ५२ दशमलव ५ प्रतिशतले परिवारसँग भौतिक दूरी पूर्णरूपमा र ३५ प्रतिशतले कहिलेकाहीँ भौतिक दूरी कायम गरेकोसमेत पाइएको छ ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech