बाँकेमा थप तीनजना कोरोना संक्रमितको मृत्यु, १३ वर्षीय बालकपनि परे

    • स्वास्थ्य पेज

  • २१ पुष २०७७, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज २१, पुष ।
कोरोना भाइरस संक्रमणबाट बाँकेका दुईवटा अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो ।

भाइरस संक्रमणबाट मृत्यु हुनेमा बाँके, दाङ र कंचनपुरका छन् । बाँकेका अस्पतालमा उपचार गराइरहेका मध्ये १३ वर्षीय बालकको पनि मृत्यु भएको छ । यसरी उपचारकै क्रममा बाँकेमा बालकको मृत्यु भएको भने यो पहिलो हो । ती बालक दाङको घोराही उपमहानगरपालिका–१८ का हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पुष १९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा २० गते भाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । निमोनिया र मुटु रोगबाट पीडित समेत रहेका ती बालकको उपचारकै क्रममा आज विहान ७ः४५ मा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

यस्तै कोहलपुर मेडिकल कलेजमै उपचारका क्रममा महेन्द्रनगर–५ कंचनपुरका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज विहान ७ः २० मा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी पुष १७ गते अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका संक्रमित मृतकको संख्या ७९ पुगेको छ । यस्तै बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षका पुरुषको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

पुष ९ गते कोभिड आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषको गएराती १२ः २५ बजे मृत्यु भएको सूचना अधिकारी वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

 

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech