नयाँ खाले कोरोना भाइरसको संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन, एकैदिन ५० हजार बढी संक्रमित भेटिए

    • स्वास्थ्य पेज

  • २१ पुष २०७७, मंगलवार

एजन्सी
एकैदिन ५० हजार बढी कोरोना संक्रमित भेटिएपछि बेलायतमा फेरि लकडाउनको घोषणा गरिएको छ । नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन घोषणा गरिएको हो ।

लकडाउन आजदेखि नै सुरू हुने र कम्तिमा पनि फेब्रुअरी १५ सम्म लागु हुने बताइएको छ। लकडाउनका बेला मेडिकल र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन। अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने छ। प्राथमिक र माध्यमिक तहका सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन्।

एकअर्काको घरमा पाहुना लाग्न जान रोक लगाइएको छ। टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट, बार खोलिने छन्।सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गर्नुभएको छ ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर लकडाउन गरिएको जोन्सनले बताउनुभयो । बेलायतले अक्सफोर्ड अष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने बताएको केही घन्टापछि नै बोरिसले लकडाउन घोषणा गर्नुभएको छ ।

सबैभन्दा पहिला बेलायतमै देखिएको र अहिले अरू मुलुकमा पनि फैलिसकेको नयाँखाले कोरोनाभाइरसको संक्रमण रोक्न आपतकालीन कदम चाल्नु आवश्यक रहेको जोन्सनले बताउनुभएको छ ।

पछिल्लो समय बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको थियो। सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए। बेलायतमा अहिलेसम्म कोरोनाबाट २७ लाख मानिस संक्रमित भएका छन् भने ७५ हजारको मृत्यु भएको छ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech