पूर्वप्रधानमन्त्री दाहाल पत्नि सीतालाई उपचारका लागि मुम्वई लगिदै, सीताको समस्या के हो ?

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका न्यूरो सर्जन डा जोशन न्यौपानेका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।


    • स्वास्थ्य पेज

  • २० पुष २०७७, सोमबार

नेपालगन्ज २०, पुष ।
पूर्वप्रधानन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । उहाँलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको दाहालको सचिवालयले जनाएको छ ।

सीताको साथमा पूर्वप्रधानमन्त्री दाहाल र छोरी गंगा दाहाल पनि साथमा रहने सचिवालयले जनाएको छ । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी सीतालाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइनेछ।

सीताको समस्या के हो ?

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) भनिन्छ ।

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका न्यूरो सर्जन डा जोशन न्यौपानेका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।

मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने उहाँको भनाइ छ। छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको छ ।

नेपालमा उपचार सम्भव छैन ?
डा न्यौपानेका अनुसार पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो । रोग यो पूर्णरुपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ । अहिले अत्याधुनिक डि.वि.एस पद्धतिबाट यसको उपचार सुरु गरिएको उहाँले बताउनुभयो ।

‘जुन ठाउँमा बिग्रिएर यो समस्या आउँछ त्यो ठाउँमा मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर उपचार गर्न सकिन्छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो-‘त्यो भनेको डि.बि.एस पद्धती हो ।’ यो रोगको सामान्य उपचार बाँसबारीस्थित न्यूरो अस्पतालमा हुँदै आएको छ । अहिले डि.वि.एस पद्धतिको उपचार यहीमात्र गरिन्छ ।

लक्षण कस्तो हुन्छ ?

पीएसपीको समस्या जेष्ठ नागरिकहरुलाई बढी हुन्छ । तर केही अधबैश्य उमेर समुहका व्यक्तिमा पनि देखिन्छ । यसको लक्षण समय अनुसार गम्भीर हुने चिकित्सकहरु बताउँछन् । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन मुश्किल हुन्छ ।

यद्यपि हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरणशक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

उपचार विधि के हो ?
यसको लक्षण पार्किन्सनसित मिल्दोजुल्दो हुने भएकाले चिकित्सकहरुलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ । कतिपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्रै रोग पत्ता लगाउन सकिने चिकित्सकहरु बताउँछन् ।

त्यसैले, यो रोग लागेको शंका लागेमा न्युरोलोजिस्टको सहायता लिन सकिन्छ । सुरुमा औषधि सेवन गर्ने र औषधिले काम नगरे मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर उपचार गर्न सकिने न्यूरो सर्जन डा न्यौपानेको भनाइ छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech