फर्केर हेर्दा सन् २०२१ः कोरोनाले २६ जना पत्रकारको निधन

    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

नेपालगन्जः नेपाल पत्रकार महासंघले सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको उसको ठहर छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएकोमा २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको जनाएको हो ।

६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् । यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दूव्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् ।

यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् । पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् ।यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा उल्लेख छ ।

‘समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन्,’ महासचिव रोशन पुरीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको छ ।’

संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको महासंघले जनाएको छ ।

त्यस्तै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसदमा दर्ता गर्ने काम भएको महासंघले जनाएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्तताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको महासंघको ठहर छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ ।

महासंघले कोरोना महामारीको बहानामा पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेको पनि उल्लेख गरेको छ ।

एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ ।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech