कोइलाको प्रयोग गरेर आगो ताप्दा कसरी निसास्सियर मृत्यु हुन्छ ?

    • प्रियास्मृति ढकाल

  • १५ पुष २०७८, बिहीबार

जाडोयाम छ । मौसम चिसो भएकाले मानिसहरु यतिबेला न्यानो हुन खोज्छन् । हुने खानेहरुले कोठामा हिटरको प्रयोग गर्छन् भने आर्थिक अवस्था कमजोर विपन्न समुदायले कोइला बालेर आगो तापेर चिसो छल्ने प्रयास गर्छन् ।

तर हिटर र कोइलाको प्रयोग सहि तरिकाले गर्न नजान्दा मान्छेको ज्यानै समेत गइरहेको छ । बुधवारराती नेपालगन्जमा त्यस्तै घटना भयो । कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) नेपालगन्जमा कार्यरत धनप्रसाद भट्टराईसँगै उहाँका थप तीन सदस्यको कोइलाको धुवाँबाट निसास्सियर मृत्युभयो ।
श्रीमति, छोरा र भाई अस्पतालको शैयामा छन् ।

साँझको खाना खाएर भट्टराई परिवारले टिनको बट्टामा कोइला सल्काए । झ्याल ढोका सबै बन्द थियो । कोइलाको रापले कोठा न्यानो हुँदै गयो । उनीहरु सबै निद्रामा लठ्दिै गए । कोठामा अक्सिजनको मात्रा घट्दै गयो । अन्ततः उनीहरु सबै अचेत भए ।

विहान अवेरसम्म पनि कोठाको ढोका खुलेन् । अरु कर्मचारीले हतार–हतार प्रहरीलाई खवर गरे । तत्काल उद्दार गरेर भेरी अस्पतालमा लगियो । तर धनप्रसादसँगै उहाँका तीन महिने छोरा, ४५ वर्षीया आमा र २७ वर्षीया दिदीले मृत्युवरण गरिसकेको चिकित्सकले घोषणा गरे ।

जाडो छल्न प्रयोग गरिने कोइला, हिटरले कसरी मृत्युसम्म पु¥याउँछ ? उसो भए हिटर र कोइला प्रयोग नै नगर्ने त ? यसै सन्दर्भमा प्रियास्मृति ढकालले भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख समेत रहनुभएका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेसँग कुराकानी गर्नुभएको छ ।

आगो ताप्दा प्रयोग गरिने कोइलाबाट निस्कने धुँवाबाट मानिस कसरी मृत्युको मुखमा पुग्छन् ?
जाडोयाम सुरु भएसँगै आगो ताप्न प्रयोग गरिने कोइलाबाट वर्सेनि मानिसहरुको मृत्यु भइरहेको खवरहरु आइरहन्छन् । पछिल्लो पटक नेपालगन्जमा भएको घटना पनि एक हो ।

जाडोमा चिसो कतैबाट नछिरोस् भन्नका लागि सबै झ्याल ढोका बन्द गर्ने चलन छ । मान्छेलाई श्वासप्रश्वासका लागि अक्सिजन चाहिन्छ । कोइला जल्न पनि अक्सिजन चाहिन्छ ।

अक्सिजनको सहायताबाट बल्दै गरेको कोइलाबाट कार्वनमोनोअक्साइड उत्पादन गर्छ । उक्त कार्वनमोनोअक्साइड शरिरमा हुने रातो रक्त कोषिकाको रगतमा टाँसिन्छ । अक्सिजन सप्लाई गर्ने मुलिकुलमा सामान्य अक्सिजन टाँसिने दर र कार्वनमोनोअक्साइड टाँसिने दर दुई देखि दुई सय ३० गुणा बढी हुन्छ । यो त्यति कडा तरिकाले टाँसिन पुग्छ ।

यसरी टाँसिदा जुन ठाउँमा अक्सिजन जानु पर्ने हो त्यहाँ जान पाउँदैन् । त्यसपछि मानिसको मृत्यु हुन पुग्छ ।

यस्तो बेलामा मानिसलाई शारिरीक असहजता हुदैन् ?
पक्कैपनि हुन्छ । सुरुमा टाउँको दुख्ने, चक्कर लागे झै हुन्छ । लठ्ठ हुने गर्छ र अन्तमा मृत्यु हुन्छ । तर यस्ता घटना प्रायः राती हुने गरेका छन् ।
रातीको समयमा यसैपनि मानिसहरु निद्रामा ध्यान केन्द्रीत हुन्छ । दिउँसो भए झ्याल ढोका खोल्ने, मानिसहरु निस्कने हुन्छ । तर रातीको समयमा सबै बन्द गरिएको हुन्छ ।

कोइलाबाट निस्केको धुवाँका कारण निसास्सियर मृत्यु भएका अधिकांश घटना रातीका छन् । रातीमा निदाएको होला भन्ने हुन्छ ।
होसमा भएको व्यक्तिपनि त्यतिबेला उद्दार गर्ने अवस्थामा हुदैनन् । त्यसले गर्दा राती बढी जोखिम देखिन्छ ।

गाउँघर भन्दा शहर बजारमै यस्ता घटना बढी भएको सुनिन्छ र देखिन्छ पनि किन ?
गाउँमा पनि यस्ता घटनाहरु हुन्छन् । गाउँघरका घरमा कतै न कतै छिद्र, प्वाल, झ्याल हुन्छन् । र, अक्सिजन आउने ठाउँ रहन्छ ।
शहरमा झयाल ढोका लगाउने हो भने अक्सिजन आउने ठाउँ नै हुँदैन् ।

बुझेकै मानिसका घरमा यस्ता घटना भएका छन् । कोइलामात्र होइन इलेक्ट्रिक हिटरपनि लामो समय बालिरह्यो भने समस्या हुन सक्छ । झयाल ढोका पुरै बन्द गरेर भित्र कोइला बाल्ने र इलेक्ट्रिक हिटर प्रयोग गरियो भने यस्ता घटनाको जोखिम उच्च हुन्छ ।

हिटर र कोइलाको प्रयोग कुन अवस्थामा गर्न सकिन्छ ?
यदी झ्याल ढोका खुला छ भने केही समयको लागि प्रयोग गर्न सकिन्छ । नत्र प्रयोग गर्नु भनेको मृत्युकै मुखमा पुग्नु हो । साँझ सुत्दाखेरी एकछिन प्रयोग गरेपनि निदाउनु भन्दा पहिले बन्द गर्नुपर्छ । त्यस्तो गर्न सकिदैन भने प्रयोेग नै नगरौं ।

झयाल ढोका बन्द गरेर आगो ताप्दै गरेका कतिपय मानिसहरु मेरो त अक्सिजन लेभल ठिकै छ, धुवाँले असर गरेको छैन् भनेर अक्सोमिटरबाट अक्सिजन लेभल हेर्दै आगो ताप्ने पनि गरेको देखिन्छ ? यो कति भरपर्दो हो ?
एकदम सहि प्रश्न गर्नुभयो । त्यो पूर्णतयाः गलत छ । कोभिड महामारीमा हामीले जुन नर्मल पल्स अक्सोमिटर प्रयोग गरेर अक्सिजन लेभल हेथ्र्यो त्यसले यसमा काम गर्दैन् ।

कोइलाबाट निस्केको कावर्नमोनोअक्साइडले रगतमा अक्सिजन लेभल कम गराउँदै लगेपनि पल्स अक्सोमिटरले नर्मलनै देखाउन सक्छ । त्यसैले पल्स अक्सोमिटरको भर पर्नु हुँदैन् ।

निसास्सियर बाँचेका विरामी पूर्णरुपमा स्वस्थ रहन्छन् ?
नरहन पनि सक्छन् । उनीहरुमा छटपटी हुने, हातहरु काम्नेलगायतका समस्या देखिन सक्छन् । कसैलाई चक्कर लाग्ने पनि हुन्छ । मानसिक समस्याको जोखिम पनि रहन्छ ।

चिसो छल्ने उपयुक्त विकल्प के हो ?
सकेसम्म घरबाहिर निस्कनु हुदैन् । निस्केपनि शरिर छोप्ने कपडा लगाउनु पर्छ । घरमा बस्दा पनि न्यानो हुने कपडा लगाउने । तातो पानी पिउने । तर चिसो छल्ने नाममा कोइला बाल्ने, हिटर बाल्ने चाही राम्रो होइन् ।

 

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech