अब स्वास्थ्य संस्थामा औषधि र उपकरणको विद्युतीय अभिलेखन

    • स्वास्थ्य पेज

  • १४ पुष २०७८, बुधबार

नेपालगन्जः सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामाग्रीको विद्युतीय अभिलेखन गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय, निर्देशनालय, स्वास्थ्य कार्यालय, पालिका तथा सबै स्वास्थ्य संस्थाहरु विद्युतीय प्रणालीमा जोडिने भएका हुन्।

नेपालमै पहिलोपटक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा औषधि तथा उपकरणहरूको विद्युतीय अभिलेखन गरिने भएको हो।

विद्युतीय अभिलेखनका माध्यमबाट सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा उपकरणको अभिलेख महालेखा परीक्षकले गरेको जिन्सी व्यवस्थापन सम्बन्धी फाराम अनुसार गरिने र त्यसको अनुगमन तथा निगरानी मन्त्रालय, निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र पालिकाले गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्रोत व्यक्ति धरमानन्द गिरीले बताउनुभयो ।

सुरुमा कैलाली र कञ्चनपुरका सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विद्युतीय अभिलेखन हुने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयहरुसम्म मात्रै विद्युतीय अभिलेख राख्ने व्यवस्था रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ।

विद्युतीय अभिलेखन भएपछि स्वास्थ्य संस्थामा औषधि र उपकरणको माग र आपूर्तिबीच सन्तुलन कायम भएर स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।

स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामग्रीहरुको अभिलेखन ९इएलएमआइस० प्रणालीमा राखिएपछि स्वास्थ्य संस्थामा औषधि उपकरणको अवस्थाको बारेमा स्वास्थ्य संस्था, पालिका, जिल्ला र प्रदेशमा जानकारी हुनेछ।

यसरी माथिल्लो निकायले मातहतको स्वास्थ्य संस्थामा मौज्दातको अवस्था, म्याद गुज्रेको औषधि, भण्डार व्यवस्थापन र विद्युतीय शासनलाई टेवा पुग्ने बताइएको छ।

जिन्सी व्वस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउन, समग्र स्वास्थ्य सूचना प्रणालीमा सुधार तथा तथ्यमा आधारित स्वास्थ्य योजना निर्माणमा सहयोग पुग्ने दाबी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीको छ।

विद्युतीय अभिलेखन सुरु भएपछि स्वास्थ्य संस्थाहरुमा औषधि उपकरणसहित स्वास्थ्य जनशक्तिको व्यवस्थापन गर्न समेत सहज हुने विश्वास गरिएको छ। औषधिको भण्डारण र प्रयोग तथा माग र आपूर्तिमा सन्तुलन हुँदा सहज स्वास्थ्य सेवा प्रवाह हुने विश्वास स्वास्थ्य अधिकारीले गरेका छन्।

 

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech