डुडुवामा निःशूल्क कान शिविरः ५० जनाको शल्यक्रिया गर्नुपर्ने

    • स्वास्थ्य पेज

  • १३ पुष २०७८, मंगलवार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकामा आयोजना गरिएको निःशूल्क कान शिविरमा करिव पाँचसय जनाले सेवा लिएका छन् । कम्दी, बेतहनी, बनकट्टी र हिरमिनियामा भएको शिविरमा चार सय ८४ जनाले सेवा लिएका हुन् ।

डुडुवा गाउँपालिकाको आयोजना तथा व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जको सहकार्यमा आयोजना गरिएको शिविरमा ५० जनाको कानको शल्यक्रिया गरिनु पर्ने बिरामी फेला परेको केन्द्रका कार्यकारी निर्देशक पुरुन चौधरीले जानकारी दिनुभयो । त्यस्तै २८ जनालाई मेसिन आवश्यक पर्ने बिरामी फेला परेका छन् ।

कम्दीमा एक सय १३ जनाको कानको चेकजाँच गरिएकोमा १६ जनालाई शल्यक्रिया गर्नुपर्ने र १८ जनालाई मेसिन आवश्यक पर्ने विरामी भेटिएका थिए ।

बनकट्टीमा एक सय ४७ जनामा १२ जनाको शल्यक्रिया र तीन जनालाई मेसिन, बेतहनीमा ९५ जनाको चेक गरिएकोमा ८ जनाको शल्यक्रिया र तीन जनालाई मेसिन र हिरमिनियामा एक सय २९ जनाको चेकजाँच गर्दा १४ जनालाई शल्यक्रिया र चार जनालाई मेसिन चाहिने विरामी भेटिएको कार्यकारी निर्देशक चौधरीले जानकारी दिनुभयो ।

ती विरामीको ब्रिनोजमा शल्यक्रिया हुनेछ । शल्यक्रियाका लागि लाग्ने ६० प्रतिशत रकम गाउँपालिकाले वेहोर्ने छ भने १० प्रतिशत रकम ब्रिनोजले बेहोर्नेछ । बिरामीले भने ३० प्रतिशतमात्रै खर्च वेहोर्नु पर्नेछ । निःशूल्क कान शिविरमा चौधरीसँगै प्राविधिकहरु दामोदर चौधरी, सीमा चौधरी, तिर्थमान रत्गैयाँ खटिनुभएको थियो ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech