जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम, जान सक्छ ज्यान

    • स्वास्थ्य पेज

  • १३ पुष २०७८, मंगलवार

नेपालगन्ज: चिसो समयमा बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।

चिसोमा दम, मुटु तथा फोक्सो सम्बन्धी समस्या भएका दीर्घ रोगीलाई जोखिम धेरै हुने भएकाले उनीहरुलाई चिसोबाट जोगाउन डाक्टरले सुझाव दिएका हुन् ।

चिसोको समयमा तातो न्यानो हुन हिटर तथा कोइला बाल्नुको साटो न्यानो कपडा लगाउन र तातो पानीसहित गेडागुडीका रस, दाल जस्ता झोलिलो पदार्थ खान डाक्टर दिपेन्द्र कार्कीको सुझाव छ ।

आगो तथा हिटर र कोइला बाल्नै पर्ने छ भने कोठा भित्र नबाली खुला ठाउँमा बाल्न र खुल्ला ठाउँ नभए कोठाको झ्याल ढोका खोलेर मात्र बाल्न पनि डाक्टरको सुझाव छ । यस्तै, जाडोमा मुटु रोगसम्बन्धी जोखिम धेरै हुने भएकाले खानपानमा ध्यान दिन फोक्सो तथा मुटु शल्य चिकित्सक डाक्टर सम्पूर्णमान तुलाधरको सल्लाह छ ।

उहाँकाअनुसार रक्तचाप कहिले धेरै र कहिले कम हुने समस्या जाडोमा हुने भएकाले गर्मीको तुलनामा जाडोमा मुटु सम्बन्धी जोखिम बढी हुन्छ । यस्तै, चिसोका कारण शरीरमा उत्पन्न हुने हर्मोनले मुटुको चाल वा धड्कन बढाउने भएकाले मुटु भित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिने उहाँले बताउनुभयो ।

यसबाट जोगिन चिसोमा सकेसम्म घर बाहिर हिडँडुल गर्नुहुँदैन र चुरोट तथा जाँड रक्सी खानु हुँदैन । जाडो छल्न चुरोट तथा जाँड रक्सी खाँदा ज्यानै समेत जाने जोखिम हुने डाक्टर तुलाधरले बताउनुभयो ।

जाँड रक्सी खाँदा शरीरलाई तातो न्यानो भएको भान हुन्छ । यसले गर्दा उनीहरुले न्यानो कपडा लगाउँदैनन् । तर, जाँड रक्सीले न्यानो बनाएको जस्तो भए पनि शरीर चिसो नै हुने भएकाले हृदयघातको जोखिम धेरै हुने डाक्टर तुलाधरको भनाइ छ ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech