विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिलः गृहमन्त्री खाँण

    • स्वास्थ्य पेज

  • १० पुष २०७८, शनिबार

नेपालगन्जः गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताउनुभएको छ ।

उहाँले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुनर्जीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो ।

बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौं स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उहाँले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवर्द्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुखद रहेको उल्लेख गर्दै आफूले सरकारकातर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८०० शय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गर्नुभयो।

रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पुस १० गतेदेखि सेवा सञ्चालन गरेको सो अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ।

अध्यक्ष आलमले रकमको अभावमा अस्पताल आएका बिरामी उपचार सेवा लिनबाट वञ्चित हुने अवस्था आउन नदिने जनाउँदै एक वर्षको अवधिमा अस्पतालका तर्फबाट रु साढे ६७ लाख र विभिन्न दाताको सहयोगमा रु १० लाखभन्दा बढी छुट उपलब्ध गराइएको जानकारी दिनभयो।

अस्पतालले हाल बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरी ३४४ जना मिर्गौलाका बिरामीलाई नियमित डायलायसिस सेवा दिँदै आएको जनाएको छ। त्यसैगरी एक वर्षको अवधिमा एञ्जियोप्लास्टी १११, एञ्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा। समीर गौतमले जानकारी दिनुभयो।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech