मेडिकल कलेज सञ्चालन गर्न झन्डै सवा दुई अर्बको जग्गा दिने सम्झौता

    • स्वास्थ्य पेज

  • १० पुष २०७८, शनिबार

घोराहीः दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल कलेजको लागि नवलपुर बहुउद्धेश्यीय सरोकार समितिले झन्डै साढे २० बिगाहा जग्गा प्रदान गर्ने भएको छ।

समितिका अध्यक्ष बलिभद्र रानाको पहलबाट घोराही उपमहानगरपालिका वडा नं। १८ नवलपुरमा २० बिगाहा ९ कट्ठा जग्गा मेडिकल कलेजले पाउने लगभग निश्चित जस्तै भएको हो।

हालसम्म जग्गा नपाउँदा प्रतिष्ठानले मेडिकल कलेज सञ्चालन गर्न सकिरहेको थिएन। प्रतिष्ठानलाई निस्शुल्क प्रदान गर्न थालिएको जग्गाको हालको मूल्य लगभग सवा दुई अर्ब जति पर्ने अध्यक्ष रानाले बताउनुभयो ।

अधिकांश जग्गा स्थानीयले चर्चिदै आएका थिए भने केही जग्गा घोराही नगर विकासको नाममा समेत रहेको अध्यक्ष रानाले जानकारी दिनुभयो।

आफ्नै ठाउँमा अस्पताल बने सर्वसाधारणले घर नजिकै स्तरीय सेवा सुविधा पाउने आशाका साथ सबैलाई मनाएर जग्गा प्रतिष्ठानलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रानाले सेतोपाटीलाई बताउनुभयो ।

उक्त जग्गा मेडिकल कलेजका लागि दिने भनेर सरोकारवाला पक्षका बीचमा सम्झौता समेत भइसकेको अध्यक्ष रानाले जानकारी दिनुभयो।

अब आवश्यक प्रक्रिया पूरा गरी क्याबिनेटबाट त्यो पारित हुन बाँकी रहेको छ।

पुस ४ गते सरोकार समिति र प्रतिष्ठानबीच जग्गा दिनेबारे सम्झौता भएको थियो। प्रतिष्ठानका निमित्त उपकुलपति डा बसन्त लामिछाने र सरोकार समितिका अध्यक्ष रानाका बीचमा जग्गा उपलब्ध गराउने सम्झौता भइसकेको छ।

घोराहीका मेयर नरूलाल चौधरीको रोहवर र प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापालाई साक्षीका रूपमा राखिएको छ।

मेडिकल कलेज सञ्चालन गर्न न्यूनतम मापदण्ड अनुसार जग्गा पुगेका हुँदा अब प्रक्रिया अघि बढ्ने प्रतिष्ठान प्रशासनले जनाएको छ।

प्रतिष्ठानलाई आवश्यक परेको खण्डमा थप जग्गा समेत प्रदान गर्न सकिने सरोकार समितिका अध्यक्ष रानाले बताउनुभयो।

प्रतिष्ठानका लागि घोराहीको नारायणपुर, झिङ्नी र देउखुरी क्षेत्रमा पनि जग्गा खोजीको प्रयास भइरहेको प्रतिष्ठानका प्रेस संयोजक निशान दाजु भट्टराईले जानकारी दिनुभयो।

 

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech