बागेश्वरी एकेडमीका झन्डै सात सय विद्यार्थीको मुटु र आँखा जाँच, कतिलाई कस्ता समस्या ?

    • स्वास्थ्य पेज

  • ६ पुष २०७८, मंगलवार

नेपालगन्जः बाँकेको कोहलपुर स्थित बागेश्वरी एकेडमी स्कुलमा एक दिने स्वास्थ्य शिबिर आयोजना गरिएको छ । उक्त शिविरमा करिव सात सय विद्यार्थीको मुटु र आँखा चेकजाँच गरिएको थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत बाल रोग बिशेषज्ञ डा. पियूस कनोडिया र फिजिसियन डा.आशिम किदवाई लगायतका चिकित्सकहरुको टोलीले नर्सरीदेखि कक्षा सातसम्मका छ सय ९० जना विद्यार्थीको चेकजाँच गरेको बताइएको छ ।

त्यसक्रममा पाँच जना बिद्यार्थीमा मुटु रोग सम्बन्धी समस्या देखिएको पाइएको छ । एक जना बिरामीको मुटुमा प्वाल परेको र ४ जना बिरामीको मुटुको भल्बमा समस्या देखिएको डा किदवाईले जानकारी दिनुभयो ।

मुटुमा प्वाल परेका र भल्बमा समस्या भएका बिद्यार्थीहरुलाई थप उपचारका लागि काठमाण्डौँको गंगालाल हृदय रोग अस्पतालसंग समन्वय गरेर उपचारको ब्यवस्था मिलाईने भएको छ । बिद्यार्थीहरुको इको गरेर मुटु रोग भए नभएको यकिन गरिएको हो ।

६ सय जना बिद्यार्थीहरुको आँखा चेकजाँच गर्दा १५ जना बिद्यार्थीमा दूर दृष्टिको समस्या देखिएको पाइएको छ ।

उनीहरुलाई चश्मा लगाउन चिकित्सकहरुले सुझाब दिएका छन् । दृष्टिमा समस्या भएका बिद्यार्थीहरुको उपचार सम्भव रहेको आँखा चेकजाँचमा संलग्न नेपालगन्ज आँखा अस्पतालका कार्यकारी अधिकृत बद्री श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समयसम्म घरमै बस्न बाध्य बिद्यार्थीहरुको स्वास्थ्य अवस्था पत्ता लगाई उनीहरुको पठन पाठ्नलाई प्रभावकारी बनाउने उद्देश्यले बिद्यालयले स्वास्थ्य शिबिर गरेको बिद्यालयका अध्यक्ष किशन गुरुङले बताउनुभयो ।

 

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech