घोराहीको सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

    • स्वास्थ्य पेज

  • ६ पुष २०७८, मंगलवार

घोराहीः २०६६ सालमा दाङ घोराही–१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए ।

तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग गर्यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो ।

२०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० शय्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर छ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो । अहिले चार वर्षयता अस्पताल पूर्णरुपमा बन्द छ ।

भारतीय दूतावासको सहयोगमा ०६६ सालमा ६६ लाख रुपैयाँ खर्च गरेर अस्पताल निर्माण गरिएको थियो ।

झण्डै ११ कट्ठा जग्गामा रहेको दुई तले अस्पताल भवनको मुख्य गेटमा अहिले ताला लागेको छ । अस्पताल सञ्चालन नहुँदा लाखौंका मेसिन तथा स्वास्थ्य उपकरणहरुमा खिया लागेको छ । अस्पताल परिसर झारपातले ढाकिएको छ ।

अस्पताल व्यवस्थापन समितिले आर्थिक अभावको कारण अस्पताल बन्द गर्नुपरेको बताउँछ । आवश्यक पूर्वाधार भए पनि अस्पताल सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत नभएकाले बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका सचिव भोला डाँगीले बताउनुभयो

आन्तरीक स्रोतबाट अस्पताल सञ्चालन गर्न नसकिने भएकाले अब स्थानीय तह मातहतमा यसलाई सञ्चालन गर्नुपर्ने अस्पताल व्यवस्थापन समितिको भनाइ छ । ‘अस्पताल सञ्चालन गर्न नसक्ने स्थिति आएपछि घोराही उपमहानगरपालिका मातहत चलाउन पटक–पटक आग्रह गर्यौं तर सुनुवाइ भएन,’ उहाँले भन्नुभयो ।

यद्यपि अस्पताल सञ्चालनका लागि भने प्रयास भइरहेको सचिव डाँगीको भनाइ छ । ‘अस्पताल पुनः सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने तयारी भइरहेको छ । प्रदेश सरकारलाई पनि सहयोग गर्न भनिरहेका छौं ।’ अस्पताल सञ्चालनका लागि आवश्यक दाता र सहयोग प्राप्त भए अस्पताल पुनः सञ्चालन गरिने उहाँको भनाइ छ ।

अस्पतालको समस्या यति मात्रै छैन । अस्पतालको भवनमा झण्डै सात वर्ष प्रहरी बस्दा झण्डै एक लाख २५ हजार रुपैयाँ बराबरको विद्युत महसुल तिर्नुपर्ने थियो । तर प्रहरीले महसुल नबुझाएपछि विद्युत प्राधिकरणको कार्यालयले अस्पतालमा विद्युत काटिदियो ।

‘विद्युत महसुल बुझाइदिन भनेर प्रहरी प्रशासन पनि धायौं,’ सचिव डाँगीले भन्नुभयो–‘तर प्रहरीले महसुल बुझाएन । विद्युत नभएपछि अस्पताल सञ्चालनमा थप समस्या भयो ।’

आफैं आर्थिक अभाव झेल्दै आएको अस्पतालले बिजुलीको महसुल बुझाउन नसक्ने उहाँको भनाइ छ । सरकारको सहयोगविना अस्पताल सञ्चालन गर्न नसकिने व्यवस्थापन समितिको निश्कर्ष छ ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले सन्चालक समितिले उपमहानगरपालिकालाई अस्पतालको सबै सम्पत्ति हस्तान्तरण गरेमा सन्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

 

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech