खोपको पहुँचमा ल्याउन घर–घरमा स्टिकर, नेपालगन्जमा १९ हजारबढी ‘ड्रपआउट’

    • प्रियास्मृति ढकाल

  • ५ पुष २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जमा वीचमै कोरोना विरुद्धको खोप लगाउन छाड्ने (ड्रपआउट) गरेको देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा १९ हजार पाँच सय ७४ जनाले खोपको दोस्रो मात्रा लगाउन नआएको पाइएको छ ।

पहिलोमात्रा खोप लगाएपछि दोस्रोमात्राको निश्चित समय तोकिएको हुन्छ । तर त्योसमय अवधिमा उनीहरु खोपको मात्रा पूरा गर्न नआएको नेपालगन्ज उपमहानगरपालिकाका खोप फोकलपर्सन राजन शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुुसार अहिलेसम्म बाँकेमा ८५ हजार तीन सय २२ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । प्रतिशतका हिसावले यो लक्षित समूहको ७२ प्रतिशत हो । त्यस्तै खोपको मात्रा पूरा गर्नेको संख्या ६५ हजार सात सय ४८ रहेको छ । यो ५६ प्रतिशत हो ।

नेपालगन्जमा कोरोना विरुद्धको खोप लगाउने लक्षित १८ वर्षमाथिका एक लाख १७ हजार तीन सय ७७ जना छन् । खोप अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले घरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

सबैलाई खोपको पहुँचमा ल्याउन उपमहानगरपालिकाले खोप लगाएको घरमा हरियो स्टिकर, घरका आधा सदस्यले पनि खोप नलगाएको घरमा पहेलो स्टिकर, घरका कुनै सदस्यले खोप नलगाएको घरमा रातो स्किटर टाँस्ने काम भइरहेको छ ।

नगरपालिकाका वडा नम्वर ३, ११, १५ र २१ मा यो अभियान चलिरहेको छ । यी वडामा खोप लगाउनेको संख्या निकै कम पाइएपछि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेको हो ।

मधेशी र मुस्लिम वाहुल ती वडामा उनीहरुलाई खोपको बारेमा जानकारी गराउने र खोपप्रति प्रेरित गर्ने काम भइरहेको शाहीले बताउनुभयो ।

‘खोपको मात्रा पूरा नगरेलाई पनि लक्षित गरेर यो अभियान सुरु गरिएको हो, शाहीले भन्नुभयो–‘बीचमै खोप छाड्नेको संख्या पत्ता लगाएर उनीहरुलाई पनि खोपको पहुँचमा ल्याउनु छ ।’

उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको शहरी स्वास्थ्य केन्द्रबाट खोप लगाउने काम भइरहेको छ ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech