स्वास्थ्य चौकीको प्रसुती भवन निर्माण ९ वर्षदेखि अलपत्र

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः काठमाडौंको फ्राइन्ड्स कन्स्ट्रक्सन कम्पनीले बदमासी गर्दा जाजरकोट जुनिचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसुती भवन निर्माण ९ वर्षदेखि अलपत्र छ ।

कम्पनीले २०६९ सालमा १ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि भवन निर्माण सुरु गरी पेस्की रकम दिएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । कर्णालीको विकट जाजरकोटका गर्भवतीको सुविधाका लागि बनाउन लागिएको प्रसुति भवन नबन्दा यहाँका जनताले सास्ती खेपिरहेका छन् ।

सुरक्षित प्रसूति सेवा अभावमा जाजरकोटमा धेरै महिलाले ज्यान गुमाएका छन् । त्यस्ता दुखद घटना न्यूनीकरण गर्न भन्दै सरकारले प्रसुति भवन निर्माणको लागि बजेट विनियोजन गरेको थियो ।

‘निर्माण व्यवसायीलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले कारबाही गर्न सकेका छैनन’, स्थानीय राजबहादुर शाहीले भन्नुभयो–‘एउटा व्यक्तिले काम नगर्दा सबै नागरिकले दुःख पाइरहेका छन् । कामचोर ठेकेदारलाई सरकारले किन कारबाही गर्न सक्दैन ?’

१ करोड ५० लाख लागतमा निर्माण हुने भवनको काम १० प्रतिशत मात्रै भएको छ । यी सबै भवनहरु साविकको सहरी विकास तथा भवन डिभिजन कार्यालय हाल संघीय आयोजना कार्यान्वयन इकाइका हुन् ।

नियामक निकायको लापरवाहीले कर्णालीमा ठेकेदारको मनपरी छ । अधिकांश ठेकेदारले पेश्की बुझेर भवनको काम अलपत्र छाडेका छन् ।

तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण नगर्ने कतिपय ठेकेदार सम्पर्कविहीन रहेको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका ईन्जिनियर टिकाराम पोखरेलको भनाइ छ । ठेकेदारको लापरवाही र मौसम प्रतिकूलताका कारण स्वास्थ्य संस्था भवन निर्माण अधुरै रहेका हुन्,’ उहाँ भन्नुहुन्छ–‘घटेर धेरै ठेक्का लिने प्रवृत्तिले ठेकेदार घाटामा जाँदा योजना अलपत्र छाड्छन् ।’

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech