आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

काठमाडौं: सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म १२–१७ वर्ष समूहका विद्यार्थीलाई लगाईने भएको हो । मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा खोप लगाईने बताउँनुभयो ।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीले खोप लगाउने भएका छन् ।

उता प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ ।

यस्तै खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत पनि रहेका छन् । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा सञ्चालन गर्दै छ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech