अख्तियारको छानविनमा परेका डा लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी

    • स्वास्थ्य पेज

  • ३ पुष २०७८, शनिबार

नेपालगन्जः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले निमित्त उपकुलपतिको जिम्मेवारी पाउनुभएको छ ।

लामिछानेको योग्यतामाथि प्रश्न उठिरहेको छ । तिनै लामिछानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।

डा लामिछानेको योग्यताका विषयमा प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ।

डा लामिछाने प्रतिष्ठानको शिक्षाध्यक्ष हुन समेत योग्यता नपुग्ने भन्दै उहाँमाथि उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको हो। अख्तियारले स्वास्थ्य मन्त्रालयसँग पनि यो विषयमा जानकारी माग गरेको छ।

योग्यताका विषयमा अख्तियारले नै मन्त्रालयसँग जानकारी माग गरेको अवस्थामा उही व्यक्तिलाई नै थप त्यो भन्दा माथिल्लो पदमा जिम्मेवारी दिनुको पछाडि आर्थिक चलखेलको शंका समेत गरिएको छ।

शिक्षाध्यक्ष डा लामिछानेसहित प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाको समेत योग्यताका विषयमा प्रश्न उठेको छ।

प्रतिष्ठानको पदाधिकारी सम्बन्धी नियमावली २०७४ अनुसार शिक्षाध्यक्ष डा लामिछाने र रजिष्ट्रार थापालाई ती पदमा नियुक्त गर्न योग्यता पुग्दैन।

शिक्षाध्यक्षको मापदण्ड काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा शिक्षाध्यक्ष बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधी गरी प्राध्यापक पदमा नियुक्त भई कम्तिमा ३ वर्ष काम गरेको व्यक्ति हुनुपर्दछ।

शिक्षाध्यक्षमा नियुक्त भएका डा लामिछाने एसोसिएट प्रोफेसर हुनुहुन्छ यो आधारमा हेर्दा उहाँ शिक्षाध्यक्षका लागि पनि योग्य भएको देखिदैन् ।

मन्त्री खतिवडाले बिहीबार डा लामिछानेलाई निमित्त उपकुलपतिको समेत जिम्मा दिनुभएको हो ।

यस्तै प्रतिष्ठानको रजिष्ट्रार हुनका लागि पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र अस्पताल प्रशासन व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधी प्राप्त गरी शैक्षिक प्रशासन, अस्पताल प्रशासनको क्षेत्रमा कम्तीमा दश वर्ष काम गरी अनुभव हासिल गरेको व्यक्ति हुनुपर्छ।

तर थापाले स्नातकोत्तर गरेको नै १० वर्ष नपुगेको भन्दै उहाँ विरुद्ध पनि उजुरी परेको हो। उजुरीमा उहाँको स्नातकोत्तर तहको प्रमाणपत्र मगाएर हेरेमा उहाँको अनुभव र उत्तिर्ण वर्ष प्रष्ट हुने पनि उल्लेख छ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech