नेपालगन्जः ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोना विरुद्धको खोप लगाउनेको भीड लागेको छ । जिल्लाका चारवटा पालिकामा आजदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
ती पालिकाका वडा स्वास्थ्य कार्यालयमा रहेका खोप केन्द्रमा खोप लगाउनेको थामिनसक्नु भीड लागेको हो । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन नेपालमा पनि देखिएपछि त्यसको त्रासका कारण कोभिड विरुद्धको खोप लगाउनेको चाप बढेको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा आज र भोली भेरोसेल र कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाइने श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैजनाथमा १९ हजार २ सय ५४ जनालाई पहिलो डोज, ३ हजार १ सय ८ जनालाई दोस्रो डोज, डुडुवामा १३ हजार ७ सय ४५ जनालाई पहिलो डोज र ३ हजार ९ सय २१ जनालाई दोस्रो डोज खोप दिइने छ ।
यस्तै नरैनापुरमा १७ हजार ५ सय ७९ जनालाई पहिलो डोज, ३ हजार २ सय १४ जनालाई दोस्रो डोज र राप्तीसोनारीमा २० हजार ४ सय ४० जनालाई पहिलो डोज र ४ हजार ४ सय १३ जनालाई दोस्रो डोज खोप दिइने श्रेष्ठले बताउनुभयो ।
यसअघि २३ र २४ गते नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा खोप लगाइएको थियो । बाँकेमा १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाउने लक्ष्य छ ।