पहुँचवालालाई भित्रभित्रै बुस्टर खोपको पहिलो डोज

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्जः जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ ।

सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक सातायता तीव्र बनेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार बुस्टर डोजका रूपमा अस्ट्राजेनेका, भेरोसेल र फाइजर खोप लगाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा बाबुराम मरासिनी पहुँचका भरमा बुस्टर डोज लगाउने क्रमलाई सरकारले तत्काल रोक लगाउनुपर्ने बताउनुहुन्छ ।

उहाँले सरकारले तत्काल नीतिगत निर्णय लिनुपर्ने बताउनुभयो । कसैले पनि पहुँचका आधारमा खोप लगाउने नहुने भन्दै उहाँले सरकारको नीति र प्रणालीअनुसार खोप उपलब्ध हुनुपर्ने बताउनुभयो ।

राजधानीका केही ठूला अस्पतालका स्वास्थ्यकर्मीलाई दोस्रो डोज नलगाइएको भन्दै बुस्टर डोज दिइएको एक सरकारी अधिकारीले दाबी गरे ।

‘दोस्रो डोज लगाएको छैन भन्दै राजधानीका करिब ९० प्रतिशत स्वास्थ्यकर्मी, केही नेता र कर्मचारीले बुस्टर डोज लगाइसकेका छन्,’ उनले भने, ‘यसरी खोप लिनेहरू एक लाखभन्दा बढी छन् ।’

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी भने सरकारको नीतिबाहिर गएर कसैले बुस्टर डोज लिएको बारे आफूलाई जानकारी नरहेको दावी गर्नुहुन्छ ।

आफूखुसी बुस्टर डोज लिँदा दुर्घटना निम्तिने जोखिम भएकाले सरकारले उपयुक्त नीति तत्काल सार्वजनिक गर्नुपर्ने विज्ञहरूले बताएका छन् । सरकारले खोपका बारे समयमै निर्णय नलिँदा अराजकता देखिएको उनीहरूको भनाइ छ ।

शनिबारसम्म २ करोड ९४ लाख ५३ हजार ७ सय ३० डोज खोप अनुदान एवं खरिदबाट प्राप्त भएको छ भने थप करिब साढे ३ करोडभन्दा बढी आउने क्रममा छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech