मोर्डनाको १४ लाख ९७ हजार डोज खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाइने

    • स्वास्थ्य पेज

  • २३ मंसिर २०७८, बिहीबार

नेपालगन्ज: कोराना भाइरसविरुद्धको झन्डै १५ लाख मात्रा खोप नेपाल आइपुगेकाे छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । हिजो बुधवार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिशिल्ड खोप भारतबाट ल्याइएको थियो ।

आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिनअघि मात्र एक लाख ८४ हजार चार सय मात्रा मोडर्ना खोप ल्याइएको थियो ।

नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्स मार्फत दुई करोड ९४ लाख ५३ हजार पाँच सय २० मात्र खोप ल्याइएको छ ।
सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech