५७ मुलुकमा फैलियो ओमिक्रोन, अस्पताल भर्ना हुनेको संख्या बढ्न सक्छ : डब्ल्यूएचओ

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७८, बुधबार
नेपालगन्ज: कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।

बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

‘डेल्टा जत्तिकै वा सोभन्दा कम गम्भीर हुने देखिए पनि थप मानिस संक्रमण भएको अवस्थामा अस्पताल भर्ना हुनेको संख्या बढ्ने अपेक्षा गरिएको छ’, डब्ल्यूएचओले भनेको छ । उक्त रिपोर्टमा ओमिक्रोनबाट गम्भीर बिरामी हुने वा नहुने भनेर मूल्याङ्कन गर्न थप तथ्याङ्क चाहिने पनि उल्लेख छ ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भनेर भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ ।

त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले समेत हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

तर ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech