‘भेरीको कोभिड वार्डमा अहिलेसम्मकै कम कोरोना विरामी उपचाररत’

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७८, बुधबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा कोरोना संक्रमित विरामीको भर्ना दर हवात्तै घटेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेका अनुसार अहिले चार जना विरामीमात्रै भर्ना छन् ।

त्यसमा दुईजना सामान्य अवस्थाका छन् । दुई जनालाई भने अक्सिजन सपोर्ट दिएर राखिएको छ । यो संख्या अस्पतालमा कोभिड विरामी भर्ना सुरु हुन थालेदेखिकै सबैभन्दा कम हो ।

भेरी अस्पतालमा २०७७ साल भदौ ३१ देखि कोभिडका विरामीहरुको उपचार सुरु गरिएको थियो । त्योभन्दा अघि खजुरास्थित क्यान्सर अस्पतालमा कोभिडका विरामी भर्ना गरेर उपचार गर्ने गरिएको थियो । २०७७ बैशाख १९ गते पहिलो केश खजुरा अस्पतालले भर्ना गरेको थियो ।

भेरी अस्पतालबाट चिकित्सकहरु पुगेर खजुरामा राखिएका बिरामीको उपचार र परामर्श गर्ने गरेका थिए । चिकित्सकहरुलाई आउजाउमा समस्या पर्ने स्थिति आएपछि खजुराको क्यान्सर अस्पतालमा रहेको कोभिड अस्पताल भेरीमा सारिएको थियो ।

दोस्रो लहरमा थेग्नै मुस्किल पर्नेगरी अस्पतालमा कोभिडका विरामी भर्ना भए । यहाँसम्मकी कोभिड वार्ड भरिभराउ भएर गल्लीमा समेत बेड बनाएर विरामीको उपचार गरियो । ‘कोभिड विरामी भर्ना हुने दर भदौ देखि नै घट्दै आएको हो डा पाण्डेले भन्नुभयो–‘अहिले सबैभन्दा कम संख्यामा उपचाररत छन् ।’ संक्रमण दर घट्दै गएपछि केही राहतको महसुस गरिएको छ ।

बिरामी भर्ना दर न्यून भएपछि भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीहरुको धपेडी पनि घटेको छ । अस्पतालमा बिरामीको भर्ना दर घटेसँगै जोखिमको मात्रापनि कम भएको चिकित्सकहरु बताउँछन् ।

तर पछिल्लो समय फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम देखिएकाले सतर्कता अपनाउन भने चिकित्सकहरुको सुझाव छ । नेपालमा पनि देखिसकेको ओमिक्रोनबाट जोगिन यसअघिकै स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने डा पाण्डेको भनाइ छ ।

मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने, सरसफाईमा ध्यान दिने, सेनिटाइजरको प्रयोग गर्ने कुरालाई विर्सना नहुँने उहाँको भनाइ छ ।

 

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech