नेपालमा ओमिक्रोन भेरियन्टको त्रासः सरकार र नागरिकले के गर्ने ?

    • डा संकेत रिसाल

  • २१ मंसिर २०७८, मंगलवार

नेपालगन्जः दक्षिण अफ्रिकामा ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि भेरियन्ट भेटिएको छ। यो संक्रमण नेपालमा भेटिएसँगै जनमानसमा एक खालको त्रास बढेको छ ।

यो भेरियन्टका विषयमा धेरै कुराहरु अध्ययनकै क्रममा रहेका कारण विज्ञहरुले अब थप सकर्तकता अपनाउनुपर्ने सुझाब दिएका हुन्।

खासगरी पहिलो चरण र दोस्रो चरणको कोभिड–१९ को महामारीबाट धेरै पाठ सिकिएकाले त्यसैअनुसार सरकार तथा आम नागरिकहरुले पूर्वतयारी र सजगताका कामहरु गर्नुपर्ने देखिन्छ ।

सरकार र नागरिक दुवैले आ–आफ्नो क्षेत्रमा तयारी गर्न जरुरी छ । त्यसो गरियो भने भाइरस संक्रमणको जोखिमबाट जुध्न सहज हुने विज्ञहरु बताउँछन् ।

सरकारले के गर्ने ?

-नेपालमा भर्खरै ओमिक्रोनका संक्रमित भेटिएकाले केही समय बिरामीको संख्या र अवस्थालाई ध्यान दिनु आवश्यक छ ।

-सरकारले कोरोना संक्रमितको संख्यामा आउने उतारचढावलाई सुक्षम ढंगबाट निगरानी गर्नुपर्छ ।
सरकारले नयाँ भेरियन्ट देखिएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै परीक्षणको दायरा बढाउन आवश्यक छ।

-नेपाल भित्रिने नाकामा पनि आवश्यक जाँच र त्यसपछि क्वारेन्टिन, आइसोलेसन गर्ने व्यवस्था गर्न आवश्यक छ।

-सरकारले भेरियन्टको फैलावट रोक्नलाई आवश्यक पर्ने सबै उपायहरु अपनाउन पर्नेछ ।

-संक्रमण देखिएको खण्डमा उपचारका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाउने, धेरैभन्दा धेरै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लगायतका काम गर्न आवश्यक छ ।

-अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षणलाई प्रभावकारी बनाइनु पर्छ ।

-कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ।

नागरिकले के गर्ने ?
-ओमिक्रोन भेरियन्टसँग आम नागरिक तर्सिने भन्दा पनि सर्तक हुन आवश्यक छ ।

-संक्रमणबाट जोगिन आम नागरिकले मास्क लगाउने, भिडभाडमा नजाने, भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न आवश्यक छ ।

डा रिसाल, भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन हुनुहुन्छ ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech